काठमाडौँ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले देशभरका ७५३ वटै स्थानीय तहमा आगामी निर्वाचन गैरदलीय हुनुपर्ने बताएका छन्। बुधबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले स्थानीय सरकारलाई राजनीतिक भागबन्डाबाट मुक्त राखेर जनमुखी बनाउनुपर्ने बताए ।
नेपालको संविधान २०७२ जारी भएपछि स्थानीय तह स्थापना भएको ९ वर्ष पुगेको स्मरण गराउँदै धमलाले यस अवधिको सूक्ष्म समीक्षा गर्नुपर्ने बताए । `२०७२ को संविधानपछि स्थानीय तह बनेको ९ वर्ष पुगिसक्यो,´ धमलाले भने, `यो अवधिमा स्थानीय तहले के कस्ता काम गरे, कहाँ चुके र जनताले के पाए भन्ने कुराको अब गम्भीर र सूक्ष्म रूपमा समीक्षा गर्नुपर्छ ।´
उनले वर्तमान प्रधानमन्त्री बालेन शाह २०७९ को निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा गैरदलिय उम्मेदवार भएर नै स्थापित भएको पनि स्मरण गराए ।
आफूले देशका विभिन्न जिल्लाहरूको भ्रमण गर्दा स्थानीयहरुले आगामी स्थानीय तहको निर्वाचनलाई लिएर निकै चासो र चिन्ता देखाएको धमलाले बताए । गाउँघरका मानिसहरु शहरीकरण भएकोमा चिन्ता व्यक्त गर्दै उनले शिक्षा र स्वास्थ्यको अभाव कै कारण यस्तो अवस्था आएको बताए । उनले भने -`गाउँमा मान्छे बस्न छाडे, नबस्नुको मुख्य कारण गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधा नहुनु नै हो ।´
गाउँमै गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधा दिन सके मानिसहरू गाउँमै बस्ने उनको भनाइ छ । उनले शिक्षा र स्वास्थ्य सेवा राम्रो बनाउनका लागि पनि स्थानीय तहलाई आर्थिक र प्रशासनिक रूपमा सक्षम र सबल बनाउन आवस्यक रहेको औल्याए ।
स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक धमलाले पार्टीगत राजनीतिकै कारण योग्य र क्षमतावान् व्यक्तिहरु ओझेलमा परेको उल्लेख गरे । आगामी २०८४ मा हुने स्थानीय निर्वाचनमा सक्षम व्यक्तिलाई अघि सारेर निर्दलिय उम्मेदवार बनाउनुपर्ने उनको भनाइ छ ।
` देशका ५१३ वटा स्थानीय तहको स्थलगत अवलोकन गरेको छु। त्यो बेला दलमा लागेका धेरै राम्रा, योग्य र सक्षम व्यक्तिहरूले स्थान पाउन सकेका छैनन्। त्यसैले अब स्थानीय तहमा गैरदलीय उम्मेदवारको विकल्प छैन,´ उनले भने ।
उनले ‘गैरदलीय’ अर्थ ‘निर्दलीय’ नभएको प्रष्ट पारे ।



प्रतिक्रिया