आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्ने अर्थमन्त्रीको घोषणा


काठमाडौँ । विनियोजन विधेयकमाथि प्रतिनिधिसभामा उठेका प्रश्न र चौतर्फी आलोचनाको सामना गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान बजेटको वैचारिक धरातल, कर नीति र आफ्नो निष्ठाको बचाउ गरेका छन् । उनले यो बजेट कुनै कम्युनिस्ट पार्टीको परम्परागत वितरणमुखी मोडेल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समतामूलक आर्थिक नीति र दर्शनमा आधारित रहेको दाबी गरे ।

मध्यम वर्गलाई ‘बायस’ नहुन आग्रह गर्दै अर्थमन्त्री वाग्लेले बजेटले निम्न वर्गलाई मध्यम वर्गमा उकास्ने स्पष्ट मार्गचित्र बोकेको जिकिर गरे । “हाम्रो दृष्टिकोण गरिबीको व्यवस्थापन होइन, समृद्धि सिर्जना हो,” संसद्‌मा उनले भने, “केबल सहायता होइन अवसर, वितरण होइन उत्पादन, र केबल भत्ता होइन आम्दानी र रोजगारीको दर्शनबाट यो बजेट निर्मित छ ।”

‘दुई रुपैयाँ बेइमानी देखिए पद त्याग्छु’

पछिल्ला दिनहरूमा अर्थ विधेयक हेरफेर र विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी कर नीतिमा बजेटअगावै सूचना चुहावट भएको भन्दै संसद् र सार्वजनिक वृत्तमा अर्थमन्त्रीमाथि गम्भीर प्रश्न उठिरहेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले यी सबै आरोपहरूलाई ‘निराधार र राजनीतिक रूपमा प्रेरित’ भन्दै कडा प्रतिवाद गरे।

आफूमाथिका आरोपहरू प्रमाणित भए मन्त्री पद मात्र नभई सार्वजनिक जीवन नै परित्याग गर्ने उनले घोषणा गरे । संसद्‌मा उनले भने, “दुई अर्ब होइन, दुई रुपैयाँ बदमासी र बेइमानी मबाट भएको प्रमाणित हुन्छ भने म मन्त्री पद त्यागिदिन्छु। सार्वजनिक जीवन नै त्याग्न तयार छु।”

आफूविरुद्ध खनिएका सांसदहरूलाई नैतिक जवाफदेहिताको मापदण्ड अपनाउन आग्रह गर्दै उनले प्रतिपक्षी दलहरूलाई चेतावनीपूर्ण शैलीमा थपे, “तपाईंहरूका काण्डबारे म अनभिज्ञ छु भन्ने नठान्नुस्, ती पनि खुल्नेछन्।” सुशासनको कठोर प्रतिबद्धता बोकेर आएको रास्वपाको सरकारले दुई महिनामै जनताको विश्वासघात गर्न नसक्ने उनको दृढता थियो।

कर वृद्धिमा ‘जोखिम र आँट’

बजेट सार्वजनिक भएलगत्तै शैक्षिक कर, स्वास्थ्य सेवामा कर र बिजुलीमा भ्याट लगाएको विषयमा भइरहेको आलोचनाप्रति लक्षित गर्दै अर्थमन्त्रीले यसलाई आफ्नो ‘राजनीतिक जोखिम र आँट’को रूपमा व्याख्या गरे। करको दर घटाएर दायरा विस्तार गर्ने कुरा यसअघिका धेरै सरकारले केवल नारामा सीमित राखेको तर आफूले व्यवहारमै दृढतापूर्वक लागू गरेको उनको दाबी छ ।

“धेरैले करको दर घटाउने र दायरा बढाउने गीत गाए, तर व्यवहारमा कसैले गरेनन् । हामीले जोखिम मोलेरै आँटेका हौँ,” मन्त्री वाग्लेले भने। उनले शिक्षा र स्वास्थ्यमा लगाइएको सामान्य करको तुलनामा नागरिकलाई अन्य माध्यमबाट ठूलो छुट र राहत दिएको तर्क गरे ।

आयकरमा भारी छुटको रक्षाकवच

शिक्षा र स्वास्थ्यको करलाई प्रतिवाद गर्दै अर्थमन्त्री वाग्लेले व्यक्तिगत आयमा लाग्ने आयकरमा भारी छुट दिएको स्पष्ट पारे । अब १० लाख रुपैयाँसम्मको वार्षिक आम्दानीमा मात्र १ प्रतिशत कर तिरे हुने व्यवस्थाले आम नागरिकलाई ठूलो राहत मिल्ने उनको भनाइ छ । यो छुट शिक्षा र स्वास्थ्यमा लगाइएको सामान्य करभन्दा बढी फाइदाजनक रहेको र उक्त करलाई व्यक्तिको आययोग्य खर्चमा घटाउन सकिने सुविधासमेत प्रदान गरिएको उनले जानकारी दिए ।

वैदेशिक पाठ: भेनेजुयला होइन, चीनको बाटो

अर्थमन्त्री वाग्लेले हचुवाका भरमा पैसा बाँड्ने नीतिले अर्थतन्त्र धराशयी हुने चेतावनी दिए । केवल पैसा मात्र बाँड्न थाले तीन-चार वर्षमै देश भेनेजुयला वा जिम्बाबे जस्तो टाट पल्टिने उल्लेख गर्दै उनले नेपालले उत्पादनशील बाटो समात्नुपर्नेमा जोड दिए ।

विगत २०–२५ वर्षमा समावेशी आर्थिक वृद्धिकै जगमा ८० करोड मानिसलाई गरिबीको रेखाबाट माथि उकास्न सफल जनवादी गणतन्त्र चीनको उदाहरण दिँदै उनले नेपालले पनि त्यस्तै स्थायी रोजगारीका उपायहरू खोज्नुपर्ने बताए । नेपालमा विगत दुई-तीन दशकमा गरिबी घट्नुको मुख्य कारण सरकारी सामाजिक हस्तान्तरण नभई रेमिट्यान्स रहेको भन्दै उनले अब सहायता दिएर भन्दा आर्थिक अवसर दिएर गरिबी घटाउनुपर्नेमा जोड दिए ।

श्रमिक र श्रम बजारमा व्यापक सुधार

बजेटले श्रम क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै लाखौँ श्रमिकलाई सुरक्षित र औपचारिक श्रम बजारमा आबद्ध गर्ने आधार तयार गरेको मन्त्री वाग्लेले बताए, जसका लागि बजेटमा निम्न सुधारका योजनाहरू अघि सारिएका छन्:

राष्ट्रिय श्रम दर्ता प्रणालीको स्थापना

अनिवार्य लिखित श्रम सम्झौता र न्यूनतम ज्यालाको प्रभावकारी कार्यान्वयन

बैंकमार्फत पारिश्रमिक भुक्तानी, बिमा र कार्यस्थल सुरक्षा

श्रम न्यायाधीकरण गठन तथा सामाजिक सुरक्षाको विस्तार

अहिलेसम्म श्रमको विषयलाई ‘बायस’ रूपमा हेरिँदा यो क्षेत्र ओझेलमा परेको टिप्पणी गर्दै उनले अब श्रम मन्त्रालय केवल वैदेशिक रोजगारी व्यवस्थापन गर्ने थलो मात्र नभई स्वदेशमै पर्याप्त आर्थिक अवसर र रोजगारी सिर्जना गर्ने एक शक्तिशाली र रणनीतिक मन्त्रालयका रूपमा विकास हुने दाबी गरे ।

Skip This

Omoda E5 Pro