पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन पोखरामा जारी रहँदा अधिवेशनस्थल बाहिर भने एउटा फरक दृश्य देखियो । अधिवेशनको मुख्य प्रवेशद्वार अगाडि ‘जेन–जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ ले शान्तिपूर्ण धर्ना दिएको छ ।
विभिन्न आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा फिर्ता लिन र उनीहरूलाई न्याय दिन माग गर्दै समूहले प्लेकार्डसहित प्रदर्शन गरेको हो । धर्नामा सहभागी युवाहरूले सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा आफ्ना साथीहरूलाई थुनेको र मुद्दा चलाएको आरोप लगाएका छन् ।
अभिव्यक्ति स्वतन्त्रताको माग
प्रदर्शनकारीहरूले ‘अभिव्यक्ति स्वतन्त्रता कायम गर’, ‘शान्तिपूर्ण आन्दोलन गर्न पाउने नागरिक अधिकारको सम्मान गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरूले राज्यले नागरिकको आवाज दबाउन खोजेको भन्दै तत्काल मुद्दाहरू सम्बोधन गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
“हाम्रा साथीहरूमाथि लगाइएका मुद्दा विशुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित छन् । शान्तिपूर्ण रूपमा आवाज उठाउँदा अपराधी जस्तो व्यवहार गरिनु निन्दनीय छ,” धर्नामा सहभागी एक आन्दोलनकारीले भने ।
कडा सुरक्षा, शान्तिपूर्ण समापन
रास्वपाको भेला चलिरहेको अवस्थामा बाहिर धर्ना सुरु भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था निकै कडा पारेको थियो । यद्यपि, प्रदर्शनकारीहरूले कुनै उग्र रूप लिएनन् । धर्ना कार्यक्रम पूर्णरूपमा शान्तिपूर्ण रहेको र यसले रास्वपाको अधिवेशनको आन्तरिक गतिविधिमा कुनै अवरोध नपुर्याएको सुरक्षा स्रोतले जनाएको छ ।
दबाब समूहले आफ्ना मागहरूप्रति राज्य र सम्बन्धित पक्ष गम्भीर नभए आगामी दिनमा थप सशक्त र दबाबमूलक कार्यक्रमहरू घोषणा गर्ने चेतावनीसमेत दिएको छ । रास्वपाको अधिवेशन र बाहिर युवाहरूको यो धर्नाले पोखराको राजनीतिक माहोललाई निकै गर्माएको छ ।



प्रतिक्रिया