जापानको ब्याजदर ३१ वर्षयताकै उच्च स्तरमा


जापान । मध्यपूर्व युद्धका कारण बढ्दो मुद्रास्फीति, महँगो ऊर्जा आयात र कमजोर येनमाथिको दबाबबीच बैंक अफ जापान (बीओजे) ले मङ्गलबार ब्याजदर बढाएर ३१ वर्षयताकै उच्च स्तरमा पुर्‍याएको छ । अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति भए पनि विश्व अर्थतन्त्रमा अनिश्चितता कायम रहेकाले जापानले मौद्रिक नीतिलाई थप कडा बनाएको हो ।

जापानको केन्द्रीय बैंकले आफ्नो प्रमुख नीतिगत ब्याजदर २५ आधार विन्दुले बढाएर १.० प्रतिशत पुर्‍याएको छ । यो सन् १९९५ पछिको उच्चतम स्तर हो भने डिसेम्बरयताको पहिलो वृद्धि पनि हो । विश्वको चौथो ठूलो अर्थतन्त्र जापानका लागि यो निर्णयलाई मुद्रास्फीति नियन्त्रण र मुद्रा स्थिरताको प्रयासका रूपमा हेरिएको छ ।

मध्यपूर्वमा तीन महिनासम्म चलेको द्वन्द्वले विश्वव्यापी ऊर्जा बजारमा ठूलो असर पारेको थियो । युद्धका कारण तेलको मूल्य बढ्दा धेरै देशमा महँगी चुलिएको छ । यही पृष्ठभूमिमा गत साता युरोपेली केन्द्रीय बैंक र इन्डोनेसियाको केन्द्रीय बैंकले पनि ब्याजदर बढाएका थिए ।

अमेरिकामा मुद्रास्फीति तीन वर्षयताकै उच्च स्तरमा पुगेपछि अमेरिकी फेडरल रिजर्भले पनि आगामी दिनमा ब्याजदर वृद्धि गर्न सक्ने अनुमान बढेको छ । यद्यपि नयाँ नेतृत्वमा रहेको फेडले यस साताको बैठकमा तत्काल निर्णय गर्ने अपेक्षा गरिएको छैन ।

अस्ट्रेलियाको रिजर्भ बैंकले यस वर्ष तीन पटक ब्याजदर बढाइसकेको छ भने बैंक अफ इङ्गल्यान्डले पनि आगामी दिनमा कडा मौद्रिक नीति अपनाउन सक्ने विश्लेषण गरिएको छ ।

संयुक्त राज्य अमेरिका र इरानले सप्ताहन्तमा तीन महिना लामो मध्यपूर्व युद्ध अन्त्य गर्ने र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने सहमति गरेका थिए । विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति यही मार्गबाट हुने भएकाले उक्त सम्झौतालाई विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिएको छ । स्विट्जरल्यान्डमा शुक्रबार औपचारिक हस्ताक्षर हुने तय भए पनि विश्व व्यापार र आपूर्ति शृङ्खला सामान्य अवस्थामा फर्किन समय लाग्न सक्ने अनुमान गरिएको छ ।

फेब्रुअरी २८ मा युद्ध सुरु हुनुअघि जापान आफ्नो कच्चा तेल आवश्यकताको करिब ९० प्रतिशत मध्यपूर्वबाट आयातमा निर्भर थियो । तेलको मूल्यवृद्धि र जापान तथा अमेरिकाबीचको ब्याजदर अन्तरले येनमाथि थप दबाब सिर्जना गरेको छ ।

गत महिना येन अमेरिकी डलरको तुलनामा १६० को स्तरमा झरेपछि जापान सरकारले मुद्रा स्थिर राख्न करिब ११७ खर्ब येन अर्थात् करिब ७२ अर्ब डलर खर्च गरेको थियो । मङ्गलबारको निर्णयपछि येन केही बलियो बने पनि त्यसको अधिकांश लाभ टिक्न सकेन ।

अक्सफोर्ड इकोनोमिक्सका जापान प्रमुख अर्थशास्त्री सिगेटो नागाईले बैंक अफ जापानले नीतिगत दर वृद्धि गर्न थप ढिलाइ गर्न नसक्ने बताउनुभएको थियो । उहाँका अनुसार ढिलाइ भए वित्तीय बजार निराश हुन सक्थ्यो र येनको थप अवमूल्यन हुन सक्थ्यो ।

बैंक अफ जापानका गभर्नर काजुओ उएडा अस्पतालमा रहेका कारण उप–गभर्नर शिनिची उचिडाले निर्णयपछि सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो ।

बीएनपी परिबासका प्रमुख अर्थशास्त्री रयुतारो कोनोका अनुसार जापानको आर्थिक जोखिम केही घटेको छ र आधारभूत मुद्रास्फीति अझ बढ्न सक्ने सङ्केत देखिएको छ । पेट्रोलियम तथा ऊर्जामा सरकारी अनुदानका कारण घरेलु माग पनि तुलनात्मक रूपमा मजबुत रहेको उनको भनाइ छ । रासस