काठमाडौं, असार २ । संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति सम्झौतापछि स्टेट अफ हर्मुज पुनःसञ्चालनमा आउने अपेक्षाले मङ्गलबार अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य तीन महिनायताकै न्यून स्तरमा झरेको छ ।
अन्तरराष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य चार प्रतिशतले घटेर प्रतिव्यारेल ७९ दशमलव ८७ डलरमा पुगेको छ । तीन महिनायता ब्रेन्ट तेलको मूल्य पहिलो पटक ८० डलरभन्दा तल झरेको हो ।
यस्तै, अमेरिकी सूचक वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य चार दशमलव पाँच प्रतिशतले घटेर प्रतिव्यारेल ७७ दशमलव १६ डलरमा कायम भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्यान्डमा शुक्रबार अमेरिका र इरानबीच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि स्टेट अफ हर्मुज पूर्ण रूपमा खुल्ने बताए ।
फेब्रुअरीको अन्त्यतिर सुरु भएको अमेरिकी तथा इजरायली आक्रमणको प्रतिक्रियास्वरूप इरानले उक्त महत्वपूर्ण जलमार्गमा ट्याङ्कर आवतजावत प्रभावकारी रूपमा अवरुद्ध गरेको थियो । यसले विश्व बजारमा तेल तथा ग्यास आपूर्तिमा दबाब सिर्जना गर्दै कच्चा तेलको मूल्य उच्चस्तरमा पुगेको थियो ।
ब्रोकर कम्पनी ट्रेड नेसनका वरिष्ठ बजार विश्लेषक डेभिड मोरिसनका अनुसार स्टेट अफ हर्मुज पुनःसञ्चालनमा आउनु कुनै पनि शान्ति सम्झौताबाट प्राप्त हुने सबैभन्दा तत्काल र सकारात्मक परिणाममध्ये एक हो ।
विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्ग मानिने स्टेट अफ हर्मुज पुनःखुल्ने सम्भावनाले बजारमा आपूर्ति अवरोधको चिन्ता कम भएको र त्यसकै प्रभावस्वरूप तेलको मूल्यमा गिरावट आएको विश्लेषकको भनाइ छ ।



प्रतिक्रिया