काठमाडौँ । स्थापनाको छोटो समयमै मुलुकको राजनीतिक क्षितिजमा चम्किएको र वर्तमान सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको संघारमा छ । नीलो पृष्ठभूमिभित्र पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको तस्वीर अंकित लोगो सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ ।
तर, यो महाधिवेशन रास्वपाको नीति र नेतृत्व चयनमा मात्र सीमित छैन, यसले भर्खरै विकास भएको रवि–बालेन सत्ता समीकरणको रसायन, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र एमालेसँगको शक्ति सन्तुलनको समेत अग्निपरीक्षा लिँदैछ । रास्वपाले ‘विशिष्ट अतिथि’का रूपमा निम्त्याएका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति गगन थापा चितवन जालान् कि नजालान् ? यदि गए भने मञ्चको दृश्य कस्तो होला भन्ने विषयमा अहिले घण्टीघरदेखि चियापसलसम्म चर्चा-परिचर्चा शुरु भएको छ ।
प्रधानमन्त्री बालेन शाह महाधिवेशनमा सहभागी हुने विषय अझै संशयको घेरामा छ । रास्वपाका नेताहरुले पार्टी एकताबद्ध रहेको र बालेन महाधिवेशनमा जाने दाबी गरे पनि बालेन निकट स्रोतहरूले सतप्रतिशत यकिन गर्न सकिरहेका छैनन् ।
तर यदि ओली विशिष्ट अतिथिका रूपमा चितवन पुगे र बालेन पनि त्यहाँ भए भने दुवै नेता एउटै मञ्चमा आमने-सामने हुनेछन् । के प्रधानमन्त्री बालेनले आफ्नो पुरानो इगो त्यागेर ओलीसँग सोफा सेयर गर्लान् ? यो कौतुहलको विषय बनेको छ । यदि ओली र बालेन सँगै भएमा बालेनसँगको ओलीको सम्बन्धमा चिसिएको बरफ हल्का पग्लिन सक्ने अनुमान पनि राजनीतिक विश्लेषकहरुले गरेका छन् ।
साथै, केही समयअघि ‘भारतको जमिन नेपालले मिचेको’ भनी सदनमा प्रधानमन्त्री बालेनले दिएको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिका कारण उनी अहिले रक्षात्मक अवस्थामा छन् । सोही विषयलाई लिएर सदनमा उठिरहेका प्रश्नहरूको सामना गर्न प्रधानमन्त्री बालेन हच्किरहेको आरोप प्रतिपक्षले लगाउँदै आएको छ । महाधिवेशनको खुला मञ्चमा पुग्दा उनले देशको राष्ट्रियता र आफ्नो अभिव्यक्तिको कसरी बचाउ गर्लान्, विश्लेषकहरूले यसलाई नियालिरहेका छन् । यद्यपि, रास्वपाभित्र मौलाउँदै गएको ‘अन्ध समर्थन संस्कृति’का कारण महाधिवेशनकै बन्द सत्रमा पनि कार्यकर्ताले बालेनमाथि सीधा प्रश्न उठाउने आँट गर्ने सम्भावना भने न्यून रहेको राजनीतिक विश्लेषकहरुको ठहर छ ।
यसैबीच, रास्वपाले कांग्रेस सभापति गगन थापालाई पनि ‘विशिष्ट अतिथि’को रूपमा औपचारिक निमन्त्रणा पठाएको छ, तर थापाका लागि चितवनको यात्रा निल्नु न ओकल्नु जस्तै बनेको छ । किनभने यसअघिको संसद्मा गगन थापाले नै रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगी गरेको भन्दै आफूसँग ठगीका प्रमाणहरूको फेहरिस्त नै रहेको दाबीका साथ लामै समय सदन गर्माएका थिए । कांग्रेसले लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै महिनौँ दिन संसद् अवरोध गरेको इतिहास छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार गगन थापा चितवनस्थित रास्वपा महाधिवेशनमा सहभागी हुनु भनेको ‘राजनीतिक नैतिकताको कसीमा जटिल मोड’ हो ।
यदि गगन थापा रास्वपा महाधिवेशनमा गएनन् भने उनलाई राजनीतिक संस्कार नभएको र संवादबाट भागेको आरोप लाग्न सक्छ । यसअघि रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा जान आनाकानी गरेपछि कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्दम्बे गएका थिए । यसपटक पनि थापा आफैँ नगएर प्रतिनिधि पठाउने सम्भावना पनि बलियो छ ।
यदि सभापति थापा आफैँ चितवन गए भने उनीमाथि सहकारी ठगीको आरोप लगाएका रास्वपा सभापति रवि लामिछानेसँग कस्तो व्यवहार गर्लान् ? मञ्चमा अङ्कमाल गर्लान् कि राजनीतिक दूरी कायम राख्लान् ? यदि रास्वपाका कार्यकर्ताले ‘सहकारी ठगीको प्रमाण खै’ भनेर सोधे भने गगन थापाले कस्तो जवाफ देलान् ? यदि उनले चित्तबुझ्दो जवाफ दिन सकेनन् भने रास्वपाका कार्यकर्ताको हुटिङ र आक्रोशको सामना गर्नुपर्ने हुन सक्छ, जुन कांग्रेसका लागि प्रत्युत्पादक बन्न सक्छ ।
असारको प्रचण्ड गर्मीमा चितवनमा हुन गइरहेको यो महाधिवेशनले रास्वपाको सभापतिमा रवि लामिछानेलाई नै दोहोर्याउने निश्चितप्रायः छ । निलो ब्यानरमा दुई शीर्ष नेताको मुस्कुराउँदो तस्बिरले एकताको सन्देश त दिएको छ, तर आमन्त्रित विशिष्ट अतिथिहरूको मन्तव्य र प्रधानमन्त्री बालेनले लामो समयसम्मको मौनतालाई चिर्दैै दिने भाषणले पनि रास्वपाको चितवन महाधिवेशनलाई निकै रोचक र पेचिलो बनाउने पक्का छ ।



प्रतिक्रिया