कक्षा १२ को परीक्षाफल: १ लाख ४७१ जना अनुत्तीर्ण, ६४ मात्रै प्रतिशत उत्तीर्ण


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। यस वर्ष परीक्षामा सहभागी भएका कुल ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जना उत्तीर्ण भएका छन् भने १ लाख ४७१ जना अनुत्तीर्ण भएका छन्।

सार्वजनिक नतिजाअनुसार यस वर्ष कुल उत्तीर्ण प्रतिशत ६४.१३ रहेको छ। नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा आंशिकतर्फ यो दर ४२.३८ प्रतिशत रहेको बोर्डले जनाएको छ । उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको संख्या पनि उल्लेख्य रहेको छ। ३.६१ देखि ४ सम्म औसत श्रेणी अङ्क प्राप्त गर्ने विद्यार्थीको संख्या १७ हजार ७८६ रहेको छ।

त्यसैगरी ३.२१ देखि ३.६० सम्म औसत श्रेणी अङ्क प्राप्त गर्ने ६४ हजार ८२१ जना रहेका छन्। २.८१ देखि ३.२० सम्म औसत श्रेणी अङ्क ल्याउने विद्यार्थीको संख्या ९४ हजार २४९ रहेको छ, जुन सबैभन्दा ठूलो समूह हो । यस्तै २.४१ देखि २.८० सम्म औसत श्रेणी अङ्क प्राप्त गर्ने ५० हजार ५९७ जना छन् । २.०१ देखि २.४० सम्म औसत श्रेणी अङ्क ल्याउने ४ हजार ३०८ जना रहेका छन् भने १.६१ देखि २ सम्म औसत श्रेणी अङ्क ल्याउने विद्यार्थीको संख्या ९ मात्र रहेको बोर्डले जनाएको छ। विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको राष्ट्रिय परीक्षा बोर्ड तथा नतिजा पोर्टल मा हेर्न सक्नेछन्।