रास्वपा महाधिवेशन: सभापतिमा ‘रवि सर्वसम्मत’, अन्यमा सकस


काठमाडौँ । वैकल्पिक राजनीतिको नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन नजिकिँदै गर्दा राजनीतिक वृत्तको नजर यतिबेला उसकै सांगठनिक मिसनतिर सोझिएको छ । सत्ताको बागडोर सम्हालिरहेको दल र पहिलो ऐतिहासिक महाधिवेशन, यी दुई संयोगले रास्वपाभित्र आगामी नेतृत्व कसरी चयन होला भन्ने कौतुहल तीव्र पारेको छ ।

विगतको निर्वाचनमा पार्टीले हासिल गरेको अप्रत्याशित सफलताको जस संवाहक बनेका पार्टी सभापति रवि लामिछानेकै वरिपरि यतिबेला रास्वपाको आन्तरिक राजनीति घुमिरहेको देखिन्छ ।

पार्टी स्थापनाको जग बसाल्ने मुख्य नायक भएकाले पनि सभापति पदमा रवि लामिछानेकै निरन्तरता रहनेमा रास्वपाभित्र करिब–करिब एकमत छ । पार्टीका शीर्ष नेताहरूका अनुसार यसपटक सभापति पदका लागि निर्वाचन हुने सम्भावना निकै न्यून छ ।

सभापति लामिछाने स्वयंले हालैको सचिवालय बैठकमा पहिलो महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउने नीतिगत प्रस्ताव अघि सारेका छन् । नेताहरू महाधिवेशनलाई शक्ति प्रदर्शनको भन्दा पनि आन्तरिक एकता र चुस्त संगठन विस्तारको बलियो सन्देश दिने अवसरका रूपमा उपयोग गर्ने रणनीतिमा छन् ।

सभापतिमा सर्वसम्मति खोजिए पनि केन्द्रीय सदस्यदेखि अन्य महत्वपूर्ण पदाधिकारी पदमा भने चुनावी रस्साकस्सी चल्ने बलियो सम्भावना छ । रास्वपाभित्र अहिले विभिन्न पृष्ठभूमि, बौद्धिक समूह र फरक–फरक धारबाट आएका नेताहरूको बाहुल्य छ । ती सबैलाई समेटेर सन्तुलित केन्द्रीय समिति बनाउनु दलका लागि मुख्य चुनौती बनेको छ ।

यो महाधिवेशन केवल नयाँ अनुहार चुन्ने माध्यम मात्र होइन, रास्वपाको वैचारिक र संगठनात्मक स्पष्टता मापन गर्ने कडी पनि हो । महाधिवेशनमार्फत रास्वपाले आफ्नो सांगठनिक ढाँचालाई कसरी संस्थागत गर्छ र पार्टीभित्र नेतृत्व हस्तान्तरण तथा आन्तरिक प्रतिष्पर्धाको अभ्यासलाई कुन रूपमा अगाडि बढाउँछ, त्यसले नै यस दलको भविष्यको राजनीतिक यात्रा तय गर्ने निश्चित छ ।