आइतबारको बिदा हटायो स्थानीय सरकारले, भन्यो– सबै कार्यालय र विद्यालय खोल्नू


काठमाडौं, असार ६ । संघीय सरकारले आफ्नो निर्णयअनुसार सातामा दुई दिन शनिबार र आइतबारको सार्वजनिक बिदा कडाइका साथ लागु गर्न खोजिरहेको छ । विभागीय मन्त्रालयहरुले स्थानीय तहलाई पत्राचार गरेर मातहतका कार्यालय र शिक्षण संस्था आइतबार बन्द गर्न कडाइका साथ निर्देशन दिएको छ ।

तर, केही स्थानीय तहले भने सेवाप्रवाहमा समस्या र पठनपाठनमा समस्या आएको भन्दै आइतबारको सार्वजनिक बिदा हटाएर कार्यालय र शिक्षण संस्था खोल्ने निर्णय गरेका छन् । बैतडीको सिगास गाउँपालिकाले आइतबारको बिदा हटाएर अब कार्र्यालय र शिक्षण संस्था खोल्ने निर्णय गरेको हो ।

यही असार ४ गते बसेको गाउँ कार्यपालिकाको बैठकले मातहतका सम्पूर्ण कार्यालयहरू आइतबारका दिन समेत नियमित सेवा प्रवाह गर्ने र सम्पूर्ण विद्यालयहरूमा नियमित पठनपाठन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत शंकरबहादुर बोहराले जानकारी दिए ।

‘नेपाल सरकार गृह मन्त्रालयको मिति २०८२/१२/२२ गतेको राजपत्रमा प्रकाशित सूचना बमोजिम सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष व्यवस्था भएतापनि सिगास गाउँपालिकाको भौगोलिक कठीनाई र प्रतिकूल मौसमका कारण हप्तामा दुई दिन सार्वजनिक बिदा हुँदा नागरिकले प्राप्त गर्ने सेवा प्रवाहमा समस्या भएको र सो सम्बन्धी जनगुनासो समेत आएकाले गाउँ कार्यपालिकाको मिति २०८३/०३/०४ गतेको निर्णय अनुसार गाउँ कार्यपालिकाको कार्यालय र मातहतका सम्पूर्ण कार्यालयहरु (वडा कार्यालय र स्वास्थ्य संस्था) मा तपसिल बमोजिम कार्यालय समय हुने गरी आईतबारका दिन समेत नियमित सेवा प्रवाह हुने र गाउँपालिका स्थित सम्पूर्ण विद्यालयहरुमा नियमित पठनपाठन हुने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत बोहराले जारी गरेको सूचनामा उल्लेख छ ।