चितवन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकलाई नयाँ नेपालको तस्वीर देखाउन सक्नुपर्ने बताएका छन् । रास्वपाको महाधिवेशनलाई सम्बोधन गर्दै शुभकामना मन्तव्यका क्रममा अध्यक्ष यादवले मुलुकलाई विद्यमान विकृति र विसंगतिबाट माथि उठाउने जिम्मेवारी अब रास्वपाको काँधमा आएको उल्लेख गरे ।
मुलुकले लामो समयदेखि सुशासन, समृद्धि र सामाजिक न्याय पर्खिरहेको भन्दै उनले रास्वपाका लागि यो एउटा ऐतिहासिक अवसर भएको टिप्पणी गरे । ‘विकृति र विसंगतिलाई छोडेर मुलुकलाई नयाँ दिशामा लाने अवसर प्राप्त भएको छ,’ यादवले भने, ‘रास्वपाको महाधिवेशनबाट नयाँ युगको थालनी हुनेछ भन्ने शुभकामना दिन चाहन्छु ।’
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले नेपालको विविधता र वर्षौँदेखिको उत्पीडनको प्रसंग कोट्याउँदै रास्वपाले सबै वर्ग र समुदायलाई समेट्नुपर्नेमा जोड दिए ।
‘सयौँ वर्षदेखि विभेदमा परेका, पारिएका विभिन्न भेषभुषा र जातजातिका समुदायले समानताको हक चाहेका छन्,’ अध्यक्ष यादवले थपे, ‘त्यसैले रास्वपाले अब सिंगो राष्ट्रलाई सम्बोधन गर्दै नयाँ नेपालको तस्वीर देखाउन सक्नुपर्छ ।’



प्रतिक्रिया