धनगढी उपमहानगरपालिकाले ल्यायाे दुई अर्ब ६४ करोडकाे बजेट


धनगढी । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि दुई अर्ब ६४ करोड ६४ लाख ६४ हजार बराबरको बजेट ल्याएको छ । आइतबार भएको १५औँ नगरसभा अधिवेशनमा नगर उपप्रमुख कन्दकला रानाले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

रानाले चालुतर्फ एक अर्ब ४३ करोड ६३ लाख ८७ हजार र पुँजीगततर्फ एक अर्ब २३ करोड ७६ लाख विनियोजन गरिएको बताइन् ।

बजेट व्यहोर्ने स्रोतमा आन्तरिक आयबाट ५५ करोड १० लाख, राजश्व बाँडफाँडबाट ६० करोड ४५ लाख ३६ हजार, नेपाल सरकारबाट वित्तीय हस्तान्तरणमार्फत एक अर्ब ६ करोड ७९ लाख ७ हजार, प्रदेश सरकारबाट १४ करोड २२ लाख ७ हजार तथा चालु आर्थिक वर्षको बचतबाट ४२ करोड ३० लाख २१ हजार २४८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।