गर्भवती महिलाको उद्धार


सिमकोट (हुम्ला), ८ असार । सुत्केरी व्यथाले थलिएकी हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेक्का निवासी २८ वर्षीया सरिता लामाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाएको छ ।

आइतबार बेलुका हुम्ला जिल्ला अस्पतालमा सुत्केरी गराउन सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको सिफारिसमा उनलाई प्रदेश अस्पताल सुर्खेत पठाइएको हो ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख उमाकान्त तिवारीले उच्च रक्तचापको समस्याबाट पीडित गर्भवती महिलाको उपचार प्रक्रियाअघि बढाउँदा वेहोस हुनपुगेपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजान अनुरोध गरेको जानकारी दिए ।

डा तिवारीका अनुसार लामाको गर्भमा रहेको बच्चा ३१ हप्ताको मात्रै रहेको छ । भिडियो एक्सरे जाँच गर्दा बच्चाको तौल करिब १२ सय ग्राम मात्रै देखिएको र बच्चाको तौल कम भएकाले थप उपचारको आवश्यक रहेको बताए ।