इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति


बर्गेनस्टक, ८ असार । मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त राज्य अमेरिकाबीच स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा भएको पहिलो चरणको वार्ता सोमबार सम्पन्न भएको छ । दुवै पक्षले आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्ता निरन्तर जारी राख्ने निर्णय गरेका छन् ।

पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि जारी संयुक्त विज्ञप्तिअनुसार तेहरान र वासिङ्टनद्वारा गठित उच्चस्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ । बाँकी प्राविधिक विषयमा यसै साता बर्गेनस्टकमा थप छलफल हुने जनाइएको छ ।

वार्ताका क्रममा लेबनानमा सैन्य गतिविधिको अन्त्य कार्यान्वयन सुनिश्चित गर्न अमेरिका, इरान, लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द्व व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति पनि भएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले यसलाई शान्ति प्रक्रियाको पहिलो वास्तविक परीक्षणका रूपमा उल्लेख गरेका छन् ।

त्यसैगरी, ‘स्टे«ट हफ हर्मुज’ हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित आपसी भ्रम र घटनाबाट बच्न दुवै पक्षले विशेष ‘सञ्चार लाइन’ स्थापना गरेका छन् । यो व्यवस्था प्रारम्भिक समझदारीपत्रमा उल्लेख गरिएको ६० दिने अवधिभर लागू रहनेछ ।

इरानी विदेशमन्त्री अराघचीले सामाजिक सञ्जाल एक्समार्फत तेल तथा पेट्रोकेमिकल निर्यातसम्बन्धी प्रतिबन्ध हटाइएको, केही रोक्का सम्पत्ति फुकुवा गरिएको र पुनर्निर्माण तथा विकास कार्यक्रम सुरु गरिएको दाबी गर्नुभएको छ । यद्यपि पाकिस्तान–कतारको संयुक्त विज्ञप्तिमा इरानी सम्पत्ति फुकुवासम्बन्धी कुनै उल्लेख गरिएको छैन ।

यसअघि हस्ताक्षर भएको समझदारीपत्रमा अमेरिकाले इरानमाथिका सबै प्रकारका प्रतिबन्ध अन्त्य गर्ने तथा रोक्का वा प्रतिबन्धित कोष र सम्पत्ति प्रयोगका लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको उल्लेख छ । यद्यपि अराघचीको दाबीबारे ह्वाइट हाउसले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

वार्ताको सफलतासँगै पाकिस्तान र कतारले मध्यस्थकर्ताका रूपमा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय भूमिका निर्वाह गरेका छन् । संयुक्त विज्ञप्तिमा दुवै देशले अन्तिम सम्झौतासम्म वार्तालाई रचनात्मक वातावरणमा अगाडि बढाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस