काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो राष्ट्रिय आर्थिक गणनाअन्तर्गत हालसम्म साढे १३ लाखभन्दा बढी प्रतिष्ठान एवं व्यवसायको गणना सम्पन्न भएको जनाएको छ । कार्यालयले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै लक्ष्यको ९१.६ प्रतिशत आर्थिक गणना सकिएको जानकारी दिएको हो ।
कार्यालयका अनुसार कागजी प्रश्नावलीमार्फत १३ लाख ४४ हजार ५ सय र ‘ई–सेन्सस’ वेब पेजमार्फत ७ हजारभन्दा बढी गरी कुल १३ लाख ५१ हजार ३ सय ३१ प्रतिष्ठानको गणना भइसकेको छ । दोस्रो आर्थिक गणनामा देशभरका १४ लाख प्रतिष्ठान एवं व्यवसाय समेट्ने लक्ष्य राखिएको छ ।
देशैभरका विभिन्न जिल्लाबाट विवरणहरू प्रणाली (सिस्टम) मा प्रविष्ट गर्ने क्रम अझै जारी रहेकाले यो संख्या थप बढ्ने कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले जानकारी दिए ।
गणनाका क्रममा सुरुवाती दिनमा केही प्रतिष्ठान एवं व्यवसायीहरूले विवरण दिन आनाकानी गरे पनि गोपनीयताको कानुनी ग्यारेन्टीबारे प्रष्ट पारेपछि सहज भएको लामिछानेले बताए । तथ्यांक संकलनका क्रममा विगतमा सञ्चालनमा रहेका तर हाल पूर्ण रूपमा बन्द भएका प्रतिष्ठान एवं व्यवसायको संख्या करिब ३८ हजार फेला परेको कार्यालयले जनाएको छ ।
देशको वास्तविक अर्थतन्त्रको आकार तय गर्न र समग्र आर्थिक क्रियाकलापको वस्तुनिष्ठ विश्लेषणका लागि यो गणना निकै महत्त्वपूर्ण मानिएको छ । दोस्रो आर्थिक गणनाको अन्तिम नतिजा आगामी आर्थिक वर्षदेखि निरन्तर रूपमा सार्वजनिक गर्दै जाने कार्यतालिका छ । यस राष्ट्रिय अभियानका लागि देशभर ३ हजार ९ सय ७ गणक र ५ सय २६ सुपरिवेक्षक परिचालन गरिएको थियो ।
यसअघि विसं २०७५ मा भएको पहिलो राष्ट्रिय आर्थिक गणनाले नेपालमा ९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक गरेको थियो ।



प्रतिक्रिया