काठमाडौँ, ८ असार । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी विषयमा सरोकार भएका निकायमा प्रतिनिधिसँग छलफल गरेकी छिन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनका लागि चितवन पुगेकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायबारे विस्तृत जानकारी लिइन्।
भ्रमणका क्रममा वन्यजन्तु र मानवबीचको सहअस्तित्व कायम गर्न सरकारले चाल्नुपर्ने सम्पूर्ण कदम दृढताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेकी उनको सचिवालयले जनाएको छ।
मन्त्री चौधरीले चितवनको देवनगरमा प्रस्तावित ‘टाइगर सेन्चुरी’ निर्माणस्थलको स्थलगत अवलोकन गरिन्। सरकारले देवनगरमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारिरहेको छ।
देशभर करिब एक दर्जनभन्दा बढी समस्याग्रस्त बाघे इन्क्लोजर (चिडियाखाना, आरक्ष वा कुनै निश्चित क्षेत्रमा जनावरलाई सुरक्षित राख्न वा सर्वसाधारणबाट अलग गर्न बनाइएको घेरा, खोर वा पर्खाल) मा राखिएका छ।
तिनको व्यवस्थापन खर्चिलो बन्दै गएको पृष्ठभूमिमा सरकारले देवनगरमा करिब ५० हेक्टर क्षेत्रफलमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारेको हो।
मन्त्री चौधरीले टाइगर सेन्चुरी निर्माण भएमा समस्याग्रस्त र घाइते बाघले प्राकृतिक वातावरण पाउने मात्र नभई पर्यापर्यटनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिन्। उनले यसका लागि आवश्यक योजनाबारे निकुञ्ज प्रशासनसँग छलफलसमेत गरिन्।
यसैगरी मन्त्री चौधरीले चितवनको खोरसोरमा रहेको हात्ती प्रजनन केन्द्रका समस्या र आवश्यकताका बारेमा जानकारी पनि लिइन्। स्थापनाको ३३ वर्षमा ६८ वटा हात्तीका छावा जन्माएर संरक्षणमा योगदान पुर्याएको प्रजनन केन्द्रका बारेमा उठेका प्रश्नलाई पनि उनले सम्बोधन गर्ने प्रयास गरेकी हुन्।
उनले केन्द्रमा माउ तथा छावाको स्वास्थ्य, आहारा व्यवस्थापन र कार्यक्षेत्रका चुनौतीबारे निकुञ्जका अधिकारीसँग छलफल गरेकी हुन्।
चितवनको राष्ट्रिय निकुञ्जको कार्यालय भ्रमण गर्दै मन्त्री चौधरीले घडियाल प्रजनन केन्द्र पनि भ्रमण गरिन्। उनले घडियाल गोहीको संरक्षण र सङ्ख्या वृद्धिका लागि सञ्चालित कार्यक्रमले नदी तटीय क्षेत्रको पारिस्थितिकीय प्रणाली सुधारमा जोड दिइन्।
सोहीअवसरमा चितवनको टिकौलीस्थित पञ्चकन्या सामुदायिक वन (रत्नगर क्षेत्र)मा कृष्णसार स्थानान्तरणका लागि भइरहेको अन्तिम तयारीको मन्त्रालयको टोलीले निरीक्षण गरेको थियो। पर्यापर्यटन एवं संरक्षणको उद्देश्यका कृष्णसार ल्याउने मन्त्रालयको तयारी छ।
मन्त्री चौधरीले कृष्णसारको सुरक्षित बासस्थान सुनिश्चित गर्न निर्देशन दिइन्। टिकौलीमा रहेको सशस्त्र वन रक्षक तालिम केन्द्रको निरीक्षण गरी वन रक्षकहरूको क्षमता अभिवृद्धि, भौतिक पूर्वाधार र वन्यजन्तु अपराध नियन्त्रणका लागि तालिमको आधुनिकिकरण हुनुपर्नेमा जोड दिइन्।
अनुसन्धान र प्रविधिको पाटोलाई नियाल्दै मन्त्री चौधरीले चितवनमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको अत्याधुनिक वन्यजन्तु जेनोमिक ल्याबको भ्रमण गरिन्।
वन्यजन्तुको अनुवांशिक अध्ययन र वैज्ञानिक अनुसन्धानका गतिविधिबारे जानकारी लिँदै उनले तथ्यमा आधारित संरक्षण नीति निर्माण गर्न यो प्रयोगशाला महत्त्वपूर्ण रहेको बताइन्।रासस



प्रतिक्रिया