कांग्रेसबाट निर्वाचित तीन स्थानीय तहका जनप्रतिनिधिहरू पदमुक्त


काठमाडौँ । नेपाली कांग्रेसबाट निर्वाचित तीनजना स्थानीय तहका जनप्रतिनिधिहरू पदमुक्त भएका छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई विजयी भएका ती प्रतिनिधिहरूले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेपछि निर्वाचन आयोगले उनीहरूको पद स्वतः रिक्त भएको घोषणा गरेको हो ।

आयोगले मंगलबार एक सूचना प्रकाशित गर्दै जुम्ला, नवलपरासी र रुपन्देहीका तीन फरक–फरक तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको जानकारी दिएको छ ।

पद रिक्त हुनेहरूमा जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बिष्णु ढकाल रहेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले ती जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भनी प्रमाणसहित पद रिक्त गराउन आयोगलाई जानकारी गराएको थियो । आयोगले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम यो सूचना सर्वसाधारण र सम्बन्धित सबैको जानकारीका लागि प्रकाशन गरिएको जनाएको छ ।