रास्वपा महाधिवेशन : रवि, बालेन र स्वर्णिम शीर्ष नेतृत्वमा सर्वसम्मत


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा पार्टी नेतृत्वका शीर्ष तीन पदमा सर्वसम्मति जुटेको छ । स्रोतका अनुसार सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा बालेन्द्र शाह र उपसभापतिमा स्वर्णिम वाग्लेको नाम तय भएको हो ।

चितवनमा तीन दिनदेखि जारी महाधिवेशनको बन्द सत्र आजबाट सुरु भएको छ । बन्द सत्रको पूर्वसन्ध्यामा शीर्ष नेतृत्व तहका प्रमुख पदहरूमा सहमति जुटेको स्रोतले जनाएको हो ।

शीर्ष तीन पद टुंगिए पनि बाँकी पदहरूमा भने लोकतान्त्रिक प्रक्रियाबाटै प्रतिस्पर्धा हुने भएको छ । अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा उत्रने नेताहरूको तयारी छ ।

पार्टी स्रोतका अनुसार आन्तरिक रूपमा नीति, नेतृत्व र नियतमा एकरुपता आइसकेकाले अब संगठनात्मक संरचनामा प्रतिस्पर्धाबाटै योग्य नेतृत्व छनोट गरिनेछ । महाधिवेशनको प्रक्रियामा केही ढिलाइ भए पनि यसलाई सामान्य प्रक्रियागत विषयका रूपमा लिइएको नेताहरूले दाबी गरेका छन् ।