चितवन । वैकल्पिक राजनीतिको राप र ताप बोकेर नेपाली राजनीतिको क्षितिजमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आफ्नो प्रथम महाधिवेशनको महाकुम्भमा छ। मंगलबार चितवनको भरतपुरस्थित बन्द सत्रको मञ्चबाट पार्टीका महामन्त्री भूपदेव शाहले कार्यकर्ता र देशलाई ढाडस दिँदै अबको २० वर्षसम्म देशलाई सही दिशामा अघि बढाउने मार्गचित्र रास्वपासँग मात्रै रहेको उद्घोष गरेका छन्।
महामन्त्री शाहले महाधिवेशनले पार्टी एकताबद्ध रहेको र देश हाँक्न सांगठनिक रूपमा पूर्ण सक्षम रहेको सन्देश दिनुपर्नेमा जोड दिए।
महाधिवेशन स्थलको गरिमालाई कोट्याउँदै महामन्त्री शाहले भावुक शैलीमा भने, ‘प्राङ्गण आफैंमा एउटा निर्जीव स्थान हो। तर, त्यही प्राङ्गणलाई मान्छेले अर्थ, उद्देश्य र इतिहास दिन्छ। चार वर्षअघि सभापति रवि लामिछानेको अगुवाइमा निलो झण्डा बोकेर सुरु भएको साना अभियानहरू आज एउटा विशाल सागर बनेका छन्।’
उनले पार्टी स्थापनाकालदेखि भोगिएका आलोचना, प्रश्न र तीव्र प्रतिस्पर्धालाई ऊर्जाको रूपमा स्विकारे। राजनीतिमा चुनौतीले नै परिष्कृत गर्ने भन्दै उनले थपे, ‘पार्टी ठूलो हुनु मात्र पर्याप्त छैन, जिम्मेवार हुनु जरूरी छ।’
आफ्नो सम्बोधनका क्रममा महामन्त्री शाहले रास्वपा नेतृत्वको सरकार र पार्टीका सामु दुईवटा मुख्य राष्ट्रिय कार्यभार रहेको प्रस्ट्याए– पहिलो, लोकतन्त्र र संविधानका मूल्य–मान्यतालाई संस्थागत गर्ने। दोस्रो, सुशासन र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने।
२१औँ शताब्दीमा केवल भौतिक पूर्वाधारले मात्र नपुग्ने भन्दै उनले हरेक नागरिकको आर्थिक उन्नतिमा ध्यान दिनुपर्ने बताए। नागरिकले मागेजति जनमत र दुईतिहाइ बहुमत सुम्पिसकेको उल्लेख गर्दै उनले अब नेतृत्वले परिणाम देखाउने पालो आएको स्वीकार गरे। ‘नागरिकले आफ्नो कर्तव्य पूरा गरिसकेका छन्, अब दिने पालो रास्वपा र सरकारको हो। रास्वपाले यो पेनाल्टी अवसर मिस गर्नुहुँदैन,’ शाहले भने। स्वदेशमै आत्मसम्मानपूर्वक गरिखाने खुला समाजको निर्माण नै रास्वपाको मुख्य ध्येय हुनुपर्ने उनले बताए।
पार्टीभित्र विचार र कार्यशैलीमा भिन्नता हुन सक्ने तर गन्तव्य एउटै हुनुपर्नेमा उनले जोड दिए। व्यक्ति आउने–जाने भए पनि संस्था र विचार जीवित रहने भन्दै उनले महत्वाकांक्षाभन्दा माथि आदर्श र व्यक्तिगत आकांक्षाभन्दा माथि देशको हित हुनुपर्ने धारणा राखे।
भरतपुरको यो महाधिवेशन नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई रास्वपाको परिपक्वताको परीक्षा र नयाँ राजनीतिक संस्कार निर्माणको प्रस्थानविन्दु बन्ने महामन्त्री शाहको दृढ विश्वास थियो।



प्रतिक्रिया