गृहमन्त्रीले अडर गरे अम्लेट, खाँदा माछाको काँडा भेटिएपछि होटललाई तीन लाख जरिवाना


काठमाडौं, असार ९ । गृहमन्त्री सुधन गुरुङले अम्लेटस खाना खाने क्रममा माछाको काँडा भेटिएपछि होटलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको क्रममा चितवनमा रहेका गृहमन्त्री गुरुङले भरतपुरस्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटलमा डबल अम्लेट अडर गरेकोमा खानेक्रममा माछाको काँडा भेटिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले होटललाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो । अम्लेटसहितको खानामा माछाका काँडा भेटिएपछि प्रहरीले दुई जना कुकु (भान्छे) लाई नियन्त्रणमा लिएर सोधपुछसमेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार भरतपुर महानगरपालिका–१० स्थित उक्त होटलको खानाको गुणस्तरबारे उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीसहितको निरीक्षण टोलीले अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी खाना उपलब्ध गराएको पाइएको प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार उक्त कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा (२) को खण्ड (क) तथा दफा ३८ को खण्ड (ङ) विपरीत रहेको ठहर गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी (निरीक्षण अधिकृत) को निर्णयअनुसार होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम ३ लाख रुपैयाँ जरिवाना गरिएको छ । साथै, बरामद गरिएका खाद्य सामग्री नष्ट गर्ने निर्णयसमेत गरिएको प्रशासनले जनाएको छ ।