चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि ३८४ जनाको उम्मेदवारी परेको छ ।
निवर्तमान प्रवक्ता मनिष झाले प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक गर्दै ३८४ जनाको उम्मेदवारी कायम रहेको जानकारी दिएका हुन् । रास्वपाको ९९ सदस्यीय निर्वाचित केन्द्रीय समिति चयनका लागि आज साँझ साढे ७ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ ।
पार्टीका अनुसार मतदान प्रक्रिया करिब चार घण्टाभित्र सम्पन्न गर्ने र मतदान सकिएको दुई घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने योजना छ । महाधिवेशनमा देशभरबाट करिब ४ हजार १ सय प्रतिनिधि सहभागी छन् । विद्युतीय मतदान प्रणाली (ई-भोटिङ) मार्फत मतदान हुने भएकाले एक प्रतिनिधिलाई मत हाल्न अधिकतम २० मिनेटसम्म लाग्न सक्ने जनाइएको छ ।
केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि भोलि (बिहीबार) बिहान दोस्रो चरणअन्तर्गत पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया सञ्चालन गरिनेछ । यसअघि पार्टी सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । अब महाधिवेशनको मुख्य चासो केन्द्रीय सदस्य र पदाधिकारी चयनतर्फ केन्द्रित भएको छ ।



प्रतिक्रिया