ताकम र शिवाङमा सडक कालोपत्र


म्याग्दी, १० असार । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र गरिएको छ ।

पूर्वाधार विकास कार्यालय, म्याग्दीमार्फत सञ्चालित दरवाङ–मुना–ढोरपाटन सडक योजनामार्फत ताकम र शिवाङको बस्तिभित्र कालोपत्र गरेर धुलो र हिलोमुक्त बनाइएको हो । ताकम र शिवाङमा ९०० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर महेन्द्र बानियाँले बताए ।

कालोपत्र भएपछि ताकमवासी उत्साहित भएका छन् । धवलागिरी गाउँपालिकामा यसअघि कालोपत्र सडक थिएन् । चिल्लो सडकको पृष्ठभूमिमा गुर्जा र धौलागिरि हिमाल देखिन्छ । पक्की सडकले गाउँको सौन्दर्यतासँगै पर्यटकीय सम्भावना बढाएको धवलागिरी गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले बताए ।

मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ– धारापानी– ताकम– मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाडा खण्डमा ६ किलोमिटर दूरीमा ढलान, कालोपत्र र ग्राभेल गर्न सञ्चालित आयोजना सम्पन्न हुने चरणमा रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख बानियाले बताए ।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०८१ जेठमा रामसागर बिके एस केबीएस धौलागिरि जेभीले रु १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का सम्झौता गरेको थियो । यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकता प्राप्त सडक आयोजना हो । गौथली भिरलगायत अप्ठ्यारो ठाउँमा ढलान भएको छ । सडकलाई आठ मिटर फरालिको बनाउने, नाली र पर्खाल निर्माण गरिएको छ ।

धारापानीमा २०६६ सालमा सडक पुगेको थियो । यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो । यो सडक धौलागिरि गाउँपालिकाको पाँच वटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । प्रदेश सरकार मार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५८ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो ।

गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिनाको रहेको छ । म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ५० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको छ । धौलागिरिको केन्द्र मुनादेखि खोरीया, मरेनी, ढोरपाटनको जलजला हुँदै पूर्वी रुकुमको तकसेरा गत वर्ष सडकले जोडिएको थियो । रासस