रास्वपा महाधिवशेनः नियोजित रूपमा नाम काटिएको प्रतिनिधि अञ्जना श्रेष्ठको गुनासो


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी बन्द सत्रमा वाग्मती प्रदेशबाट सबैभन्दा बढी मत ल्याएर प्रतिनिधि चुनिएकी अञ्जना श्रेष्ठको नाम प्रतिनिधि सूचीबाट हटाइएपछि विवाद चुलिएको छ । महाधिवेशन बन्द सत्रको हलभित्र प्रवेश र मतदान प्रक्रियाबाटै वञ्चित गराउने उद्देश्यले नियोजित रूपमा आफ्नो नाम काटिएको आरोप श्रेष्ठले लगाएकी छन् । श्रेष्ठले आफूमाथि चरम लापरबाही र अन्याय भएको भन्दै आक्रोश व्यक्त गरेकी छन् ।
नाम काटिनुको कारणबारे शंका व्यक्त गर्दै श्रेष्ठले पार्टी नेतृत्व र व्यवस्थापन पक्षमाथि गम्भीर प्रश्न उठाएकी छन् ।
‘बालुवाटार र पोखरामा पार्टी सभापति रवि लामिछानेको न्यायका लागि भएका आन्दोलन र बचाउमा म अग्रपंक्तिमा उभिएकी थिएँ,’ उनले भनिन्, ‘सभापतिको पक्षमा दह्रोसँग कुरा उठाएको र पार्टीको मूल भावनाको वकालत गरेकै कारण रिसइबी साँधेर मेरो नाम काटिएको जस्तो मलाई लागेको छ ।’

उनले थपिन्, ‘वाग्मती प्रदेशमा सबैभन्दा बढी जनमत पाएकी प्रतिनिधिको नाम यसरी गायब पारिनु सामान्य त्रुटि हुनै सक्दैन । यो नियोजित षड्यन्त्र हो ।’

श्रेष्ठका अनुसार व्यवस्थापन समितिले उनलाई हलभित्र छिर्ने प्रतिनिधि पास त उपलब्ध गराएन नै, हलबाहिर उपलब्ध गराइने फुड कुपनसमेत दिन अस्वीकार गरेको छ ।
‘एउटा लोकतान्त्रिक र विधिको शासन नारा दिने पार्टीभित्र प्रतिनिधिको अधिकार यसरी खोसिनु लज्जास्पद छ । मलाई मेरो मताधिकार प्रयोग गर्न दिइनुपर्छ,’ श्रेष्ठले माग गरेकी छन् ।
सर्वाधिक मत ल्याउने प्रतिनिधि नै बन्द सत्रको अधिकारबाट वञ्चित हुनुपर्ने परिस्थिति कसरी सिर्जना भयो भन्नेबारे पार्टीको निर्वाचन आयोग वा केन्द्रीय व्यवस्थापन पक्षले हालसम्म कुनै आधिकारिक स्पष्टीकरण दिएको छैन ।