शिक्षामन्त्री भन्छन्: ‘जनशक्ति थपेर समयमै नतिजा ल्याएका हौँ’


काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया कानुनसम्मत र समयमै भएको दाबी गरेका छन् । परीक्षाको नतिजालाई लिएर भइरहेका चर्चा र आन्दोलनका बीच मन्त्री पोखरेलले आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेका हुन् ।

नतिजा प्रकाशनमा हतार नगरिएको दाबी गर्दै मन्त्री पोखरेलले आवश्यक जनशक्ति थपेर र प्रशासनिक झन्झटहरू छोट्याएर तोकिएकै समयमा नतिजा ल्याइएको स्पष्ट पारेका छन् ।

‘यस प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौँ,’ मन्त्री पोखरेलले भने, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो ।’

नतिजाको विषयलाई लिएर सडकमा भइरहेको शान्तिपूर्ण आन्दोलनप्रति मन्त्रालयको सम्मान रहेको उनले बताए । लोकतान्त्रिक समाजमा शान्तिपूर्ण रूपमा आफ्ना आवाज उठाउने अधिकार सबैलाई हुने उनको भनाइ छ ।

तर, आन्दोलनरत विद्यार्थीहरूलाई लक्षित गरी सामाजिक सञ्जालमा भइरहेका नकारात्मक टिप्पणीप्रति मन्त्री पोखरेलले गम्भीर आपत्ति जनाएका छन् । ‘शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गर्दछु,’ उनले उल्लेख गरेका छन् ।
नतिजा प्रक्रियालाई थप विश्वसनीय र पारदर्शी बनाउन मन्त्रालयले एउटा उच्चस्तरीय समितिसमेत गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको मन्त्री पोखरेलले जानकारी दिए ।

उक्त समितिले परीक्षाको उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षणका साथै परीक्षाङ्क र डेटा इन्ट्रीको प्रमाणीकरण गर्ने मन्त्रालयले जनाएको छ ।