काठमाडौं, असार ११ । व्यवसायी अजेय सुमार्गीको पासपोर्ट (राहदानी) रोक्का गरिएको छ। सुमार्गीमाथि चलिरहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई प्रभावकारी बनाउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अध्यागमन विभागलाई पासपोर्ट रोक्का राख्न निर्देशन दिएको हो।
स्रोतका अनुसार अनुसन्धान प्रक्रिया जारी रहेका बेला सुमार्गी विदेश जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै विभागलाई पत्राचार गर्दै पासपोर्ट रोक्का राख्न निर्देशन दिइएको हो।
व्यवसायी सुमार्गीमाथि कर उन्मुक्ति हुने विभिन्न मुलुकहरूबाट शंकास्पद ढंगले नेपालमा ठूलो परिमाणमा रकम भित्र्याएको आरोप छ। विशेषगरी मुक्तिश्री सिमेन्ट र स्याटलाईट टेलिकममा भित्रिएको वैदेशिक लगानीको स्रोतलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको थियो।
यसअघि उक्त रकम रोक्का नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिए पनि पछि सो आदेशले निरन्तरता पाएको थिएन। करिब एक दशक पुरानो उजुरीका आधारमा विभागले हाल अनुसन्धानलाई पुनः सक्रिय बनाएको छ। राजनीतिक संरक्षणमा अकूत धन आर्जन गरेको आरोपमा सुमार्गी लामो समयदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धानको ‘राडार’ मा परेका थिए ।



प्रतिक्रिया