अहिले सवा ९ बजेदेखि ६ पदाधिकारीको लागि मतदान, मध्यरातमा नतिजा


काठमाडौं, असार ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ६ जना पदाधिकारीको लागि अहिले राति सवा ९ बजेदेखि मतदान शुरू हुने भएको छ ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाको पाँचौँ संशोधनअनुसार अहिले पदाधिकारीका लागि फारम वितरण तथा दर्ताको काम जारी रहेको छ । पौने ९ बजे अन्तिम नामावली प्रकाशित हुनेछ भने ८ बजेलाई दाबी विरोधको समय राखिएको छ ।

सवा ९ बजेदेखि मध्यराति सवा १२ बजेसम्म मतदान हुने छ । भोलि बिहान साढे १ बजे मतपरिणाम घोषणा हुने कार्यतालिकामा उल्लेख छ । १९ जना पदाधिकारीमध्ये सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन्।

बाँकी दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीका लागि दोस्रो चरणको निर्वाचन हुने छ । एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सह प्रवक्ता, एक कोषाध्यक्ष र दुई सह कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने रास्वपाको विधानमा व्यवस्था छ ।