आजको प्रतिनिधिसभा बैठक स्थगित हुनसक्ने


काठमाडौं, १२ असार । प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन, २०८३’ पेश गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र विधेयक प्रस्तुत गरिने कार्यसूची छ ।

त्यसैगरी, आर्थिक विधेयक, २०८३ माथि संशोधनसहित छलफल हुने तथा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्नेछन् ।

बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफावार छलफल, संशोधनहरूमाथि निर्णय तथा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्रीले प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसद र मन्त्री महाधिवेशनका लागि चितवनमै हुँदा आज बैठक बस्ने सम्भावना न्यून रहेकाले आज पनि सूचना टासेर स्थगित हुने सम्भावना धेरै छ।