अमरेशको ‘चेतावनी’ र रास्वपाको अग्निपरीक्षा


काठमाडौँ । नेपाली राजनीतिको मियो यतिबेला विचार र व्यवस्थाको द्वन्द्वमा घुमिरहेको छ। चितवनमा आफ्नो पहिलो महाधिवेशन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला नीति र सिद्धान्तको प्रयोगशालामा छ। उपसभापति डा. स्वर्णिम वाग्लेले महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक-आर्थिक प्रतिवेदनले जब ‘प्रादेशिक संरचना खारेजीको बहस गर्‍यो, तब राजनीति तरंगित हुन पुग्यो।
यसै पृष्ठभूमिमा गगन थापालाई सर्लाही-४ मा हराएर चर्चामा आएका रास्वपा सांसद डा. अमरेशकुमार सिंहले सामाजिक सञ्जालमार्फत दिएको कडा चेतावनीलाई एउटा सांसदको आक्रोश मात्र मान्न सकिँदैन– यो मधेश, थारु र जनजाति आन्दोलनबाट प्राप्त संघीयताको रक्षाका लागि सिंहले फालेको राजनीतिक पासा हो। अब प्रश्न उठ्छ, रास्वपाले अमरेशको यो चेतावनीलाई कसरी लेला ?
डा. वाग्लेको प्रतिवेदनले संघीयताको खारेजीभन्दा पनि प्रादेशिक संरचनाको खर्चिलो पक्ष र यसको औचित्यमाथि प्रश्न उठाएको हो। अमरेश सिंहको चेतावनीपछि रास्वपा नेतृत्वले तत्कालै आक्रामक प्रतिवाद गर्ने सम्भावना न्यून छ। मधेशमा आफ्नो संगठन विस्तार गर्दै गरेको दलका लागि एन्टी–संघीयताको ट्याग लाग्नु प्रत्युपादक हुन सक्छ। त्यसैले रास्वपाले अमरेशको चेतावनीलाई ‘हामी संघीयता विरोधी होइनौँ, तर विकृति विरोधी हौँ’ भन्दै मध्यमार्गी र रक्षात्मक व्याख्या गरेर सामसुम पार्न खोज्नेछ। यदि सिंहको यो चेतावनीलाई मधेशका अन्य दलले पनि आफ्नो एजेन्डा बनाए भने रास्वपालाई मधेशमा संघीयताविरोधी पार्टीको आरोप लाग्न सक्छ। त्यसैले रास्वपा नेतृत्व यसप्रति बेलैमा सचेत हुन जरुरी छ ।
अमरेश सिंहको चेतावनी रास्वपाका लागि एउटा राजनीतिक ‘अलार्म’ हो। पपुलिजमको जगमा उभिएको रास्वपाले भावनामा बगेर संघीयता खारेजीको कडा लाइन लिएमा देशको एउटा ठूलो हिस्सा (विशेषगरी मधेश र उत्पीडित समुदाय) सँग उसको दूरी बढ्न सक्छ। त्यसैले रास्वपाले यसलाई हल्का रूपमा लिने गल्ती नगरी प्रतिवेदनका शब्दहरूलाई अझ बढी परिमार्जित र सन्तुलित बनाउन जरुरी देखिएको छ ।