भोजपुर, १२ असार । पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै ‘शून्य होम डेलिभरी’ कायम भएको छ ।
गाउँपालिकाभित्र पाँच वटा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि घरमै प्रसूति हुने प्रचलन पूर्ण रूपमा अन्त्य भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले सबै वडामा सुरक्षित प्रसूति सेवा उपलब्ध भएपछि गर्भवतीलाई स्वास्थ्य संस्थामै प्रसूति गराउन आउनेक्रम बढेको बताउँछन् ।
गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले पोषण सुधारका लागि ‘आफैँ पाल्ने, आफैँ खाने’ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनले उक्त कार्यक्रमअन्तर्गत आमालाई कुखुरा वितरण गरी पोषणयुक्त आहारमा जोड दिइएको बताए ।
नवजात शिशुको भविष्य सुरक्षित गर्न गाउँपालिकाले विशेष कार्यक्रम पनि अघि बढाएको छ । प्रत्येक नवजात शिशुका नाममा मासिक रु ५०० बैंक खातामा जम्मा गर्ने व्यवस्था गरिएको छ ।
स्थानीय बलराम राईले गर्भवतीलाई स्टेचरमा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यताको अन्त्य भएको बताए । “अहिले गाउँमै सेवा पाइने भएपछि जोखिम र दुःख दुवै हटेको छ”, उनले भने ।
गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकता राख्दै आवश्यक काम गरिरहेको अध्यक्ष किरण राईले बताए । रासस



प्रतिक्रिया