काठमाडौं, १२ असार । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले बालेन शाह नेतृत्वको वर्तमान सरकारले मुलुकलाई दुर्घटनाको जोखिममा पारेको आरोप लगाएकी छिन्। शुक्रबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकार केवल ‘एक्स्प्रेस वे’ मा कुद्न खोजेको तर सन्तुलन गुमाउँदा भयानक दुर्घटना निम्तिन सक्ने चेतावनी दिएकी हुन् ।
नेतृ झाँक्रीले सरकारको सुशासन र डेलिभरी केवल नारामा मात्रै सीमित भएको दाबी गरिन्। ‘प्रधानमन्त्रीज्यूले हामीलाई एक्सेलेटर भए पुग्छ, ब्रेक चाहिँदैन भन्नुभएको छ,’ झाँक्रीले भनिन्, ‘तर सन्तुलन गुमेको सवारीले जतिसुकै फराकिलो बाटोमा पनि दुर्घटना बाहेक केही निम्त्याउँदैन। अहिलेको सरकार त्यही बाटोमा छ।’
उनले राष्ट्रियता र स्वाभिमानको विषय उठाउँदै विगतका आन्दोलन र विदेशी सद्भावको चर्चा गरिन्। महाभूकम्पको समयमा क्रिस्टियानो रोनाल्डो जस्ता अन्तर्राष्ट्रिय खेलाडीले देखाएको ऐक्यबद्धता स्मरण गर्दै उनले अहिले केही इन्फ्लुएन्सर र अभियन्ताहरूले राष्ट्रिय झण्डा ओढेर देश जलाउने काम गरेको आरोप लगाइन्।
उनले भनिन्, ‘देशका तथ्य, तथ्याङ्क र प्रशासनिक केन्द्रहरू जलाइएको घटनालाई क्रान्ति भनियो, यो कस्तो क्रान्ति हो?’ झाँक्रीले भदौ २३ र २४ गतेका घटनाहरूको न्यायिक छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग समेत गरिन्।



प्रतिक्रिया