काठमाडौं, असार १४ । नेपाल अल स्पोर्ट्स हबको आयोजनामा प्रथम मौलिक तथा परम्परागत खेल प्रतियोगिता आयोजना गरिएको छ । शनिबारदेखि सुरु भएको दुईदिने प्रतियोगिता अन्तर्गत काठमाडौं महानगर –७ स्थित सिफलमा आयोजना गरिएको प्रतियोगितामा डण्डिबियो, बाघचाल, बुद्धिचाल, रस्साकस्सी, घैटौ फोर र सटपुटगरी ६ वटा खेल समावेश गरिएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले गरेका छन् । उक्त अवसरमा बोल्दै उनले नेपाली खेलकुदको विकास र संस्कृति रक्षा दुवै विषयमा यो खेल महोत्सव लाभदायक हुने विश्वास व्यक्त गरे ।
मौलिक तथा परम्परागत खेलकुदको संरक्षण, प्रवर्द्धन र विकासका लागि सबै पक्षको साझा पहल आवश्यक रहेको बताउँदै उनले मौलिक र परम्परागत खेलहरूको संरक्षण तथा विकासमा अझ व्यापक रूपमा काम गर्नुपर्ने आवश्यकता रहेकोबारे जोड दिए । उनले भने,‘यस्ता प्रतियोगिताले हाम्रो मौलिक खेलप्रति नयाँ पुस्ताको आकर्षण बढाउने मात्र होइन, सांस्कृतिक पहिचानलाई पनि जीवन्त राख्छ ।’

धमलाले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना हुनुपर्नेमा जोड दिँदै मौलिक खेलहरूको संरक्षण, व्यवस्थापन र प्रवर्द्धनमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे। परम्परागत खेलकुदलाई केवल मनोरञ्जनका रूपमा नभई नेपाली समाजको इतिहास, संस्कृति र पहिचानसँग जोडिएको सम्पदाका रूपमा हेर्नुपर्ने उनको भनाइ छ ।
नेपाल उसु महासङ्घका महासचिव नवराज ढुङ्गाना विशिष्ट अतिथिका रूपमा उपस्थित उद्घाटन समारोहमा साइक्लिङ सङ्घका महासचिव रञ्जन राजभण्डारी, भेट्रान चेस खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठ, चेसका अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजु, नेपाल बुद्धिचाल महासङ्घका उपाध्यक्ष ताराबहादुर रानाभाट, उपाध्यक्ष सानुराज बज्राचार्य, कोषाध्यक्ष वीरबहादुर रावल तथा पूर्व राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईं लगायतको उपस्थिति रहेको थियो। उद्घाटन समारोह आयोजक कमिटीका संयोजक दीपेन राईको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतियोगिताअन्तर्गत बुद्धिचाल (चेस) तर्फको स्पर्धामा रिसन थापाले पहिलो स्थान हात पारेका छन् । शनिबार सिफलमा भएको सात चरणको प्रतियोगितामा उनले ६.५ अङ्क प्राप्त गर्दै उपाधि जितेका हुन्। प्रतियोगितामा आशिष फुयाँल दोस्रो तथा सुमन मोक्तान तेस्रो भएका छन् ।
सोही खेल महोत्सवअन्तर्गत भएको टग अफ वार (डोरी तान्ने खेल) मा जेन्जी समूह पहिलो, सगरमाथा समूह दोस्रो तथा माउन्ट एभरेस्ट समूह तेस्रो भएको छ। कुल छ वटा रैथाने खेलहरू समावेश गरिएको यस प्रतियोगिताअन्तर्गत डन्डिबियो, बाघचाल, घैँटो फुटाई र सटपुट (छेलो हान्ने) खेलहरू आज आइतबार सञ्चालन हुने आयोजकले जनाएको छ।

पुरस्कार राशितर्फ टग अफ वारमा पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार तथा तेस्रो हुने समूहले ५ हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन्। यसैगरी, बुद्धिचालतर्फ पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार र तेस्रो हुनेले ६ हजार रुपियाँ पुरस्कार पाएका छन्। चेसमा चौथो हुनेले ५ हजार, पाँचौँले ४ हजार, छैटौँले ३ हजार, सातौँले २ हजार तथा आठौँदेखि दसौँ स्थानसम्म आउने खेलाडीहरूले जनही १ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छन्।



प्रतिक्रिया