पेरुकी पहिलो महिला राष्ट्रपति केइको : १९ वर्षमै बनेकी थिइन् ‘फर्स्ट लेडी’



काठमाडौं । पेरुमा पहिलोपटक कुनै महिला राष्ट्रपति बन्ने ऐतिहासिक उपलब्धि केइको फुजीमोरीले हासिल गरेकी छन् । चौथोपल्ट राष्ट्रपतिको चुनाव लडेकी ५१ वर्षीया दक्षिणपन्थी नेत्री फुजीमोरीले करिब ५०.१ प्रतिशत मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी वामपन्थी उमेदवार रोबर्टो सान्चेजले ४९.९ प्रतिशत मत पाएका छन् ।

केइकोले आउँदो जुलाई २८ मा राष्ट्रपति पदको शपथ लिनेछिन् । उनी पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजीमोरीकी छोरी हुन् । चुनावी ‘फन्डिङ’सम्बन्धी ‘मनी लाउन्डरिङ’को आरोपमा उनी सन् २०१८ देखि २०२० सम्म जेल समेत बसेकी थिइन् । अब उनीमाथि अपराध, भ्रष्टाचार र राजनीतिक अस्थिरताबाट देशलाई बाहिर निकाल्ने ठूलो जिम्मेवारी आएको छ ।

सन् १९९० को दशकमा उनका बुवा अल्बर्टो फुजीमोरी पेरुका राष्ट्रपति थिए । त्यति बेला देश उग्रवादी समूह ‘सेन्डेरो लुमिनोसो’का लगातार हमलाले त्रसित थियो । राष्ट्रपति भवन समेत निसानामा परेपछि केइको र उनका भाइबहिनीले लामो समय भूमिगत बंकरमा रात बिताउनुपरेको थियो ।

राति हुने विस्फोट र आक्रमणका कारण उनीहरू स्कुल जान डराउँथे । तर, जस्तोसुकै परिस्थिति आए पनि पढाइ रोक्नु हुँदैन भन्ने उनका बुवाको स्पष्ट अडान थियो । कठिन परिस्थितिमा पनि सामान्य जीवन जिउने पाठ केइकोले त्यहीँबाट सिकेकी थिइन् ।

१९ वर्षमै ‘फर्स्ट लेडी’
सन् १९९४ मा केइको अमेरिकाको स्टोनी ब्रुक विश्वविद्यालयमा अध्ययनरत थिइन् । त्यही समयमा उनका आमाबुवाबीच सम्बन्धविच्छेद भयो । उनकी आमा सुजाना हिगुचीले राष्ट्रपति कार्यालयसँग सम्बन्धित भ्रष्टाचार र राजनीतिक हस्तक्षेपका आरोप लगाएपछि पारिवारिक विवाद चर्किएको थियो ।

त्यसपछि केइको आफ्नो पढाइ बीचमै छोडेर पेरु फर्किइन् । आमा पदबाट बाहिरिएपछि तत्कालीन राष्ट्रपति अल्बर्टो फुजीमोरीले १९ वर्षीया केइकोलाई देशको ‘फर्स्ट लेडी’को जिम्मेवारी दिए । उनी त्यति बेला विश्वकै सबैभन्दा कम उमेरकी फर्स्ट लेडीमध्ये एक बनेकी थिइन् ।

राष्ट्रपति भवनका केही भागलाई आफ्नै रुचिअनुसार गुलाबी रङले सजाएपछि उनी आलोचनाको केन्द्रमा पनि परेकी थिइन् । अनुभवहीन किशोरी भन्दै आलोचना गरिए पनि उनले त्यसलाई सहज रूपमा स्वीकार गरिन् ।

१३ महिना जेल 
केइकोका दुई छोरी छन् । सन् २०१८ मा चुनावी फन्डिङ र मनी लाउन्डरिङसम्बन्धी मुद्दामा उनी पक्राउ परिन् । र, करिब १३ महिना जेल बसिन् ।

जेलमा रहँदा उनले आफ्ना छोरीहरूलाई नियमित रूपमा चिठी लेख्ने गर्थिन् । ती पत्रहरूमा उनी पढाइमा ध्यान दिन, आत्मविश्वास कायम राख्न र परिवारको हेरचाह गर्न प्रेरित गर्थिन् । ती चिठी छोरीहरूका निम्ति मात्र नभई स्वयं केइकोका लागि पनि कठिन समय पार गर्ने मानसिक सहारा बनेका थिए ।

रिहाइपछि उनी पुनः सक्रिय राजनीतिमा फर्किइन् । र, अन्ततः पेरुको इतिहासमा पहिलो महिला राष्ट्रपति बन्न सफल भएकी छन् । रोयटर्सबाट