काठमाडौं, असार १६ । चार पटकको विश्वविजेता जर्मनी फिफा विश्वकप २०२६ बाट बाहिरिएको छ । अमेरिकाको बोस्टन स्टेडियममा आज बिहान भएको खेलमा पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै जर्मनीको यात्रा अन्तिम ३२ बाट नै समाप्त भएको हो । जितसँगै पाराग्वे अन्तिम १६ मा पुगेको हो। राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडनडेथमा ४(३ ले पराजित गरेको हो।
पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गोल गरेका हुन्। निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमको खेल १(१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट तय भएको हो। जारी विश्वकपमा पेनाल्टी सुटआउटबाट निर्णय भएको यो पहिलो खेल हो।
सुरुवाती पाँच पेनाल्टी प्रहारमा दुवै टिमका गोलकिपरले दुई(दुई पेनाल्टी बचाउँदा ३(३ को बराबरी भएको थियो। त्यसपछि छैटौं पेनाल्टी प्रहार गरेका जर्मनीका ताहको प्रहार पोस्टमाथिबाट बाहिरियो। त्यसपछि जोसे कानालेले पाराग्वेका लागि निर्णायक पेनाल्टी गोलमा परिणत गरे।
त्यसअघि जुलियो इनसिसोले ४२औं मिनेटमा गोल गर्दै पाराग्वेलाई पहिले अग्रता दिलाएका थिए भने काई हाभार्टले ५४औं मिनेटमा जर्मनीका लागि बराबरी गोल फर्काएका थिए। पाराग्वेले अब फ्रान्स र स्वीडेनबीचको विजेतासँग अन्तिम १६ मा खेल्नेछ।



प्रतिक्रिया