किन सच्यायो रास्वपाले केन्द्रीय सदस्यको सूची ?


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरूको नामावलीमा सुधार गर्दै संशोधित सूची सार्वजनिक गरेको छ। चितवनको भरतपुरमा हालै सम्पन्न महाधिवेशनको मतपरिणाम घोषणामा प्राविधिक त्रुटि भेटिएपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगले नाम सच्याएको हो।
भुवन केसीको अध्यक्षतामा रहेको केन्द्रीय निर्वाचन आयोगका अनुसार महाधिवेशन समापनपछि केही उम्मेदवारहरूले आफूले बढी मत प्राप्त गरे पनि क्लस्टर मिलाउने क्रममा अन्यायमा परेको भन्दै गुनासो दर्ता गराएका थिए। उम्मेदवारहरूको सोही गुनासो र दाबीका आधारमा आयोगले मतपरिणाम, उम्मेदवारी दर्ताका कागजात तथा सम्बन्धित प्रमाणहरूको पुनः गम्भीर अध्ययन र परीक्षण गरेको थियो।
आयोगले गरेको पुनः परीक्षण र संशोधनसँगै केन्द्रीय समितिबाट दुई जनाको नाम हटेको छ भने दुई जना नयाँ अनुहार वैकल्पिक नभई मूल सूचीमै निर्वाचित घोषित भएका छन्।

हटाइएका नामनयाँ थपिएका (निर्वाचित) नामसम्बन्धित क्लस्टर/क्षेत्र
कृष्णमान श्रेष्ठध्रुवकुमार थापामगरजनजाति क्लस्टर
सोम शर्मापूजा बाँस्तोलाप्रादेशिक (भूगोल) – गण्डकी प्रदेश

आयोगका अनुसार यो फेरबदल हुनुमा मुख्य दुईवटा प्राविधिक कारणहरू रहेका छन् –

जनजाति क्लस्टरको विवाद
महाधिवेशन निर्वाचन कार्यविधि–२०८३ बमोजिम जनजाति क्लस्टरतर्फको मतपरिणाम र उम्मेदवारी दर्ताका क्रममा पेश गरिएका कागजातहरूको सूक्ष्म अध्ययन गर्दा कृष्णमान श्रेष्ठको सट्टा ध्रुवकुमार थापामगरले नियमसंगत रूपमा बढी मत र योग्यता पाएको पुष्टि भयो।

भूगोलतर्फ प्राविधिक त्रुटिः

प्रादेशिक (भूगोल) तर्फ गण्डकी प्रदेशको मतपरिणाम पुनः परीक्षण गर्दा पूजा बाँस्तोला निर्वाचित हुनुपर्ने ठाउँमा डाटा इन्ट्री वा प्राविधिक असावधानीका कारण त्रुटिवश सोम शर्माको नाम समावेश हुन पुगेको आयोगले स्वीकार गरेको छ।

‘पार्टीभित्र आन्तरिक लोकतन्त्र र विधिको शासनलाई स्थापित गर्न उम्मेदवारहरूको न्यायोचित गुनासो सुनुवाइ गरिएको हो। पुनः परीक्षण गर्दा देखिएको त्रुटिलाई सच्याएर वास्तविक परिणाम सार्वजनिक गरिएको छ,’ आयोग स्रोतले भन्यो।

निर्वाचन आयोगले आफ्नो भूल स्वीकार गर्दै संशोधित सूची नै आधिकारिक भएको स्पष्ट पारे पनि महाधिवेशन लगत्तै केन्द्रीय समितिको नामावली नै बदल्नुपर्ने परिस्थिति आउनुलाई राजनीतिक वृत्तमा भने चासोका साथ हेरिएको छ।