काठमाडौँ, १६ असार । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबीच स्थानीय तहमा देखिएका समस्या समाधान तथा सङ्घ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।
भेटमा स्थानीय तहमा कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा अन्य चुनौतीका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा मुख्यमन्त्री यादवले स्थानीय तहमा देखिएका समस्याबारे जानकार रहेको उल्लेख गर्दै समस्या समाधानमा प्रदेश सरकारका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।
मन्त्री रावलले स्थानीय तहको बजेट तर्जुमा प्रक्रियालाई प्रभावकारी र व्यवस्थित बनाउन मन्त्रालयले तीन जना सहसचिवको नेतृत्वमा टोली परिचालन गरी स्थलगत सहजीकरण तथा समन्वय गरेको जानकारी दिए ।
टोलीले पालिका प्रमुख, उपप्रमुख तथा सम्बन्धित पदाधिकारीसँग छलफल गरी स्थानीय तहका समस्या, आवश्यकता र चुनौतीबारे स्थलगत विवरण सङ्कलन गरेको थियो ।
स्थानीय तहका समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्री रावलले स्थानीय सरकारलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमुखी बनाउन आवश्यक पहललाई निरन्तरता दिने बताए । छलफलमा मन्त्रालयका सचिव, सहसचिव, प्रतिनिधिसभा सदस्य रहबर अन्सारीलगायतको उपस्थिति थियो ।



प्रतिक्रिया