काठमाडौं । सामुदायिक विद्यालयहरूको व्यवस्थापनलाई प्रभावकारी, उत्तरदायी तथा गुणस्तरीय बनाउने उद्देश्यले आयोजित “विद्यालय व्यवस्थापन समितिहरूको क्षमता विकास कार्यशाला” सफलतापूर्वक सम्पन्न भएको छ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपालको आयोजनामा नयाँ बसपार्क, बालाजुस्थित सौगात पार्टी प्यालेसमा असार १६ र १७ गते सञ्चालन भएको दुईदिने कार्यशालामा बागमती प्रदेशका १३ जिल्लाका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका साथमा महासंघका नवनिर्वचित पदाघिकारी एवं सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यशालामा प्रा.डा. विद्यानाथ कोइराला डा. हरि लम्साल, अनिलमणि बज्रचार्य, दीपक शर्मा, सोमत घिमिरे अभिषेक घिमिरे पूर्ण दवाडी र गुणराज मुक्तान ले सहजीकरण गर्दै विद्यालय शिक्षाको व्यवस्थापनमा सहभागितामूलक मोडल, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, शिक्षा नीतिमा समुदायको भूमिका, शिक्षाको स्थानीयकरण तथा विकेन्द्रीकरण, विद्यालय र समुदायबीचको सम्बन्ध लगायतका समसामयिक विषयमा प्रस्तुति दिएका थिए।

कार्यक्रममा सहभागीहरूले विद्यालय व्यवस्थापन समितिको क्षमता अभिवृद्धि, विद्यालयको शैक्षिक गुणस्तर सुधार, स्थानीय तह र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा अनुभव आदानप्रदान गरेका थिए। सहभागीहरूले यस्ता क्षमता विकास कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

आयोजकका अनुसार कार्यशालाबाट प्राप्त सुझाव तथा अनुभवहरूलाई सामुदायिक विद्यालयको व्यवस्थापन र शैक्षिक सुधारका कार्यक्रमहरूमा उपयोग गरिनेछ। कार्यक्रमले विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको नेतृत्व क्षमता विकास गर्न तथा विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।



प्रतिक्रिया