ह्वील लकभित्र थुनिएको रोजीरोटी: शासक फेरिए, सास्ती फेरिएन


काठमाडौँ। दुई वर्षअघि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि इलामका प्रेमप्रसाद आचार्यले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए। देशको आर्थिक विसंगति, कर्जाको चक्रव्यूह र राज्य संयन्त्रको उदासीनताविरुद्ध सामाजिक सञ्जालमा साढे ६ हजार शब्दको सुसाइड नोट लेखेर उनले गरेको आत्मदाहले बालुवाटार र सिंहदरबारलाई निकै दिनसम्म स्तब्ध बनायो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कार्यकालमा घटेको त्यो घटना सेलाउन नपाउँदै अहिले काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि अर्का युवा गणेश नेपालीले त्यसैगरी आत्मदाहको प्रयास गरेका छन्।

नगर प्रहरीले निषेधित क्षेत्रमा पार्किङ गरेको भन्दै मुगुका २५ वर्षीय पठाओ चालक गणेश नेपालीको मोटरसाइकलमा ‘ह्वील लक’ गरिदिएपछि उनी आवेशमा आए। देशमै केही गरेर खान्छु भनी श्रम गरिरहेका एक युवाको रोजीरोटीको साधनमाथि राज्यको कठोर डण्डा बर्सिएपछि उत्पन्न आक्रोश र विरक्तिको परिणाम थियो- त्रिपुरेश्वरको त्यो वीभत्स दृश्य।

घटनाका पात्र, स्थान र समय फरक होलान्, तर यी दुवै आत्मदाहको अन्तर्य एउटै छ- नागरिकप्रतिको राज्यको चरम उदासीनता र अभिभावकत्वको अभाव।

प्रचण्ड प्रधानमन्त्री हुँदा संसद् भवन अगाडि प्रेमप्रसादले आत्मदाह गर्दा नागरिक समाजले राज्यको अर्थनीति र युवा स्वरोजगार कार्यक्रममाथि गम्भीर प्रश्न उठाएको थियो। आम मानिसले सोचेका थिए— अब त सरकार ब्युँझिएला, साना व्यवसायी र श्रमजीवीका दुःख सम्बोधन होलान्। तर परिस्थिति बदलिएन।
अहिले केन्द्रमा बालेन साह नेतृत्वको रास्वपा सरकार हुँदासमेत नागरिकले सडकमै आत्मदाहको बाटो रोज्नुपर्ने अवस्था आउनुले व्यवस्था र नेतृत्व फेरिए पनि नागरिकको सास्ती नफेरिएको पुष्टि गर्छ। व्यस्त सडकमा गरिखाने वर्गले न्याय नपाएर शरीरमा आगो झोस्नुपर्ने स्थिति लोकतान्त्रिक मुलुकका लागि लज्जास्पद विषय हो।
काठमाडौँ महानगरपालिकाले सडक व्यवस्थापन र ट्राफिक नियम पालना गराउनु उचित हो। तर, नियम कार्यान्वयन गराउँदा नागरिकको बाँच्न पाउने र श्रम गर्न पाउने हकको संवेदनशीलतालाई बुझ्न जरुरी हुन्छ। मुगुको दुर्गम गाउँबाट आएर काठमाडौँमा राइड सेयरिङ (पठाओ) चलाएर गुजारा गरिरहेका गणेश नेपालीका लागि उनको मोटरसाइकल नै उनको जीवन धान्ने एक मात्र आधार थियो।

ट्राफिक व्यवस्थापनका नाममा साना श्रमजीवीलाई विकल्पहीन बनाउने, जरिवानाको नाममा तर्साउने र आत्मसम्मानमा ठेस पुर्‍याउने शैलीले नागरिकलाई विद्रोही वा निराश बनाउँछ। नियमले शहर त बन्ला, तर नागरिकको लासमाथि बनेको सुन्दर शहरको के अर्थ ?

प्रेमप्रसाद आचार्यले आफ्नो आत्मवृत्तान्तमा देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा र वैदेशिक रोजगारमा जाँदा भोग्नुपरेका हण्डरहरूको फेहरिस्त छोडेर गएका थिए। गणेश नेपालीको छटपटी पनि देशमै श्रम गरेर खान नपाउनुको आक्रोश हो। नागरिकलाई रोजगारी दिन नसक्ने, तर देशमै केही गर्छु भन्नेहरूलाई अनावश्यक कानुनी र प्रशासनिक उल्झन दिएर आत्महत्याको अवस्थासम्म पुर्‍याउने राज्य कहिल्यै नागरिकको अभिभावक बन्न सक्दैन।

केन्द्र सरकार र स्थानीय तहले अब नियम र जरिवानाको भाषा बोल्न बन्द गर्नुपर्छ। जनतालाई सेवा सुविधा दिने, रोजगारीको वातावरण बनाउने र संकटमा परेका नागरिकलाई छहारी दिने कानुन र संयन्त्रको निर्माण तत्काल आवश्यक छ।