काठमाडौं, असार २५ । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा आज शक्तिशाली फ्रान्स र अफ्रिकी प्रतिनिधि मोरक्को आमनेसामने हुँदैछन्। बोस्टन स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार शुक्रबार बिहान १ः४५ बजे सुरु हुनेछ। विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ।
फ्रान्स लगातार उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम आठमा पुगेको हो। अन्तिम १६ मा उसले पाराग्वेलाई १–० ले पराजित गरेको थियो। यता मोरक्कोले क्यानडालाई ३–० ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको छ।
यो प्रतिस्पर्धालाई सन् २०२२ को विश्वकप सेमिफाइनलको पुनरावृत्तिका रूपमा पनि हेरिएको छ। त्यसबेला फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो। यसपटक मोरक्को इतिहास दोहोरिन नदिने लक्ष्यमा हुनेछ भने फ्रान्स उपाधि यात्रालाई निरन्तरता दिने योजनामा मैदान उत्रनेछ।
फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे र मोरक्कोका कप्तान अच्रफ हाकिमीबीचको प्रतिस्पर्धा खेलको मुख्य आकर्षण रहने अपेक्षा गरिएको छ। दुवै टोलीका समर्थकबीच यस खेलप्रति उच्च उत्साह देखिएको छ।
जारी विश्वकपमा सात गोल गरिसकेका एम्बाप्पे लगातार दोस्रो विश्वकपमा गोल्डेन बुट जित्ने लक्ष्यमा छन्। मोरक्को सन् २०२२ मा पोर्चुगललाई हराउँदै विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको थियो । यस खेलको विजेताले सेमिफाइनलमा स्पेन र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।



प्रतिक्रिया