गृहमन्त्री मध्यरातमा विमानस्थलको ‘एयरसाइड’मा प्रवेश, आत्मदाह प्रयास गरेका गणेश नेपालीलाई भारत नलगिने


काठमाडौं, असार २६ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडी पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर भएपछि सरकारले चिकित्सकको सुझावअनुसार थप उपचारका लागि तत्काल भारत नलैजाने भएको छ।

उनको उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजाने तयारी गरेपनि स्वास्थ्य अवस्था अस्थिर भएको जनाउदै तत्काल भारत नलगिने भएको हो ।

हाल रातको समयमा विमानस्थल बन्द हुँदै आएको छ । तर, गृहमन्त्री सुदन गुरुङ ​उनलाई तत्कालै विमानस्थल पुर्‍याउने भन्दै मध्यरातमा ट्राफिक प्रहरीको गाडीसहित विमानस्थल भित्र (एअरसाइड) जहाजसम्मै पुगेका थिए । यसअघि सरकाले नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै ब्यहोर्ने बताएको थियो ।

वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन् ज्यानको जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उनलाई तत्काल भारत नलग्ने भएको हो । चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिएका छन् ।