गणेश नेपालीको परिवार र सरकारबीच अस्पतालमै वार्ता जारी, आफन्तलाई शव बुझ्न दबाब


काठमाडौं, असार २६ । राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि सरकार र उनका परिवारबीच वार्ता भइरहेको छ। बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरअगाडि आत्मदाह प्रयास गरेका नेपालीको शुक्रबार वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।

उनको निधनपछि न्यायको माग गर्दै परिवारका सदस्य तथा आफन्तले दिनभर प्रदर्शन गरेका थिए। त्यसपछि वीर अस्पतालमै सरकारी प्रतिनिधि र परिवारबीच छलफल सुरु भएको हो। पीडित आफन्तका अनुसार सरकार पक्षधरहरूले वीर अस्पताल पुगेर मृतक गणेश नेपालीका आफन्तलाई शव बुझ्न दबाब दिएका छन् । प्राप्त जानकारी अनुसार मृतक गणेशका बाबु, आमा र दाजु शुक्रबार साँझ मुगुबाट सुर्खेत हुँदै जहाजमा बेलुकी काठमाडौं आईपुगेका छन् ।

वार्तामा गृहमन्त्री सुदन गुरुङको सचिवालयका सदस्य अनिल बानियाँ, प्रधानमन्त्रीको सचिवालयका प्रतिनिधि, गृह मन्त्रालयका कर्मचारी तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिव सहभागी छन्। मृतकको तर्फबाट उनका दाजुसहित परिवारका सदस्य वार्तामा सहभागी भएका छन्।