काठमाडौं, असार २८ । इंग्ल्याण्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान भएको क्वाटरफाइनल खेलमा नर्वेलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै इंग्ल्याण्डले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
मियामी स्टेडियममा भएको खेलमा इंग्ल्याण्डलाई जित दिलाउन जुड बेल्लिन्घामले दुई गोल गरे । नर्वेको लागि एन्ड्रेस स्चजेल्डेरुपले एक गोल गरे । खेलको लिएको शुरूवाती अग्रता जोगाउन नसक्दा नर्वे पराजित हुन पुगेको हो । खेलको ३६ औँ मिनेटमा ओडेगार्डको पासमा स्चजेल्डेरुपले गोल गर्दै नर्वेलाई शुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा बेल्लिन्घामले गोल गर्दै इंग्ल्याण्डलाई १-१ गोलको बराबरीमा ल्याए । ५५ औँ मिनेटमा टोर्बजोर्न हेग्गेमले गरेको गोल भीएआरले रद्द गर्दा नर्वेले खेलमा दोस्रोपटक अग्रता लिने मौका गुमाएको थियो । निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको खेलको ९३ औँ मिनेटमा बेल्लिन्घामले गोल गर्दै इंग्ल्याण्डलाई २-१ गोलको अग्रता दिलाएका थिए ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा इंग्ल्याण्ड २-१ गोलले विजयी भएको हो । अब इंग्ल्याण्डले सेमिफाइनल खेलमा आज अर्जेन्टिना र स्विट्जरल्यान्डबीच हुने अन्तिम क्वाटर फाइनल खेलको विजेतासँग खेल्नेछ ।



प्रतिक्रिया