काठमाडौँ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले मिडिया हाउसका गेटमा अज्ञात व्यक्तिले गाडी पार्किङ गरेर छोडेर हिँडेको विषयमा सरकाको ध्यानाकर्षण गरेको छ ।
सोमबार बसेको संसदीय समितिले सरकारलाई मिडियालाई त्रसित बनाउनेमाथि कारबाही गर्न भनेको छ ।
बैठकमा बोल्दै समिति सभापति समिक्षा बास्कोटाले कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन, अनलाइनखबर अगाडि शंकास्पद रूपमा सवारी पार्किङ गरिएकोप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताइन् ।
सभापति बास्कोटाले मिडिया हाउसको गेटमा सवारी पार्किङ गरी अवरोध गर्ने निजी नम्बर प्लेट भएका सवारी साधनलाई ट्राफिक प्रहरीले हटाइसकेको जानकारी समितिलाई गराइन् ।
सञ्चार माध्यमलाई त्रसित बनाउने कार्य स्वीकार्य नहुने भन्दै उनले यो घट्नाको गम्भीर रूपमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गरिन् ।
‘यो विषयमा हामीले सरकारको गम्भीर ध्यानाकर्षण गरायौँ । मिडियालाई त्रसित बनाउने कार्यमा संलग्न जोकोही होस् यसलाई गम्भीर रुपमा लिएर भोलिको दिनमा पनि उचित छलफल गर्नुपर्छ ,’ उनले भनिन्ु ।
सोमबार बिहान शंकास्पद रुपमा अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर मिडिया हाउसका कार्यालयअघि गाडी पार्किङ गरिएको थियो ।



प्रतिक्रिया