काठमाडौँ । जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ति गाउँपालिकामा पाँच अव्यवस्थित बसोबास गरिरहेका परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।
समितिले सार्वजनिक गरेको विवरणअनुसार केही जग्गा आवास प्रयोजनका लागि रहेका छन् भने केही जग्गा कृषि प्रयोजनका छन् । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीय जग्गाधनी पुर्जा प्राप्त गरेपछि पाँच अव्यवस्थित परिवार कानुनी रूपमा जग्गाधनी बनेका हुन्।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ । यसअघि सरकारले बर्दियाको बढैयातालका २९ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको थियो ।
भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उहाँहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। रासस



प्रतिक्रिया