सञ्चारमाध्यमसँगको सहकार्य घनिष्ठ बनाउने छौँ -रास्वपा


काठमाडौँ । राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले आमसञ्चार माध्यमलाई नियन्त्रण गर्ने आफ्नो रास्वपाको कुनै पनि उद्देश्य नरहेको स्पष्ट पारेका छन्।

पार्टी संसदीय दलले साेमबार संसदीय मामिला विषयसँग सम्बद्ध पत्रकारहरूसँग गरेको छलफलमा उनले लोकतन्त्रलाई बलियो बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे।

रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले आफूहरू जनताले दिएको जनमतअनुसार परिणाममुखी काम गर्न लागिपरेको उल्लेख गर्दै सञ्चार माध्यमलाई सकारात्मक काममा सहयोग गर्न आग्रह गरे।

रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले आफूहरूले सञ्चारमाध्यमसँगको सहकार्यलाई घनिष्ठ बनाइ संसदीय प्रक्रियामा काम गर्ने बताए । संसदीय मामिला पत्रकार समाजका अध्यक्ष मनोज सत्याल, अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीलगायतले संसदीय अभ्यासमा सञ्चारकर्मीको भूमिकाबारे प्रकाश पार्दै सोसम्बन्धी अनुभव आदानप्रदान गरे।

छलफलमा महिला तथा सामाजिक समितिका सभापति आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सुम्नीमा उदास, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) का सभापति गणेश कार्की, कानुन न्याय तथा मानवअधिकार समितिका सभापति समीक्षा बास्कोटा, संसदीय सुनुवाई समिति (संयुक्त) का सभापति बोधनारायण श्रेष्ठलगायतको सहभागिता थियो ।