संसद्‌मा अमरेशको आक्रोश– ‘राज्य संकटमा छ, लोकतन्त्र नै सिद्धिने काम नगरौँ’


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापालाई सर्लाही–४ मा पराजित गरेर संसद् छिरेका अमरेशकुमार सिंह अहिले सत्तारुढ दल (रास्वपा) का सांसदका रूपमा सदनमा छन्। सत्तारुढ बेन्चमै बसेर उनले मंगलबार संसद्‌मा जे बोले, त्यसले वर्तमान सत्ता गठबन्धनभित्रको अन्तरद्वन्द्व र सिंगो राज्य संयन्त्रको असफलतालाई छताछुल्ल पारेको छ।

राज्य र जनता रहे मात्र राजनीति रहन्छ भन्नुको अर्थ संसद्‌भित्रको दलीय खिचातानीले व्यवस्था नै संकटमा पर्ने खतरा उनले औँल्याएका छन्।

बालेन सरकारले आफ्नो हनिमुन पिरियड पूरा गरिसकेको छ। तर, यो १०० दिनमा सरकारले सोचेजस्तो नतिजा दिन सकेन। अमरेशले भनेझैं संसद्‌लाई घोचपेचको थलो बनाइँदा जनतामा चरम निराशा छाएको छ । सय दिनमा आफ्नो प्रतिबद्धता पूरा गर्न सरकारले सकेको छैन ।
बजार चलायमान हुन सकेको छैन, युवाहरू बाहिरिने क्रम रोकिएको छैन र साना व्यवसायी पलायन भइरहेका छन्। सरकारले यो निराशा चिर्ने ठोस आर्थिक प्याकेज ल्याउनै सकेन।
सरकारले अब सत्ता र प्रतिपक्षको परम्परागत लडाइँभन्दा माथि उठेर राष्ट्रिय संकट जस्तै- आर्थिक मन्दी, बेरोजगारी र संघीयता कार्यान्वयनका जटिलतामा न्यूनतम साझा सहमति कायम गर्नैपर्छ। सभामुखमार्फत सबै दललाई एकजुट गराउने अमरेशको प्रस्तावलाई सरकारले स्वीकार्नुपर्छ।
अब सरकारले फेसबुक स्टाटर्समा होइन, भुइँतहका जनताले महसुस गर्ने गरी डेलिभरी दिनुपर्छ।
यो देशमा केही हुन्न भन्ने भाष्यलाई चिर्न सरकारले युवा स्वरोजगार र देशभित्रै अवसरहरू सिर्जना गरेर देखाउनुपर्छ। संसद्‌बाटै नेताहरूले आशाको सञ्चार गराउन जरुरी छ।
अमरेशकुमार सिंहले सत्तापक्षमै रहेर पनि सरकारलाई ऐना देखाइदिएका छन्। यो ऐना सरकारका लागि आत्मसमीक्षा गर्ने सुनौलो अवसर हो। १०० दिनको सुस्ततालाई छाडेर सरकारले अब ‘गियर’ बदल्नैपर्छ– नत्र युवामा निराशा छाएर थप पलायन बढ्नेछ भने लोकतन्त्र र राज्यमाथि समेत संकट आउन सक्छ।