प्रेस स्वतन्त्रतामाथिको खतरा: संसद्‌मा गुञ्जियो रास्वपा सचेतकको गर्जन


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले सञ्चार गृहहरूलाई धम्क्याउने र तर्साउने अराजक गतिविधिको कडा शब्दमा निन्दा गरेका छन्।

मङ्गलवार प्रतिनिधिसभा बैठकमा बोल्दै सचेतक परियारले नेपालको संविधानले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको स्मरण गराए। पछिल्लो समय सञ्चारक्षेत्रमाथि भइरहेका घेराबन्दीप्रति आपत्ति जनाउँदै उनले संसद्‌मार्फत सरकार र गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

‘हिजो राजधानीका अग्रणी सञ्चार-माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर, भौतिक रूपमा आवतजावत ठप्प पारी सञ्चारगृहलाई तर्साउने जुन कुत्सित प्रयास गरियो, म यसको कडा शब्दमा भर्त्सना गर्दछु,’ परियारले संसद्‌मा भने, ‘सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्छन्। तर, बुझ्नुपर्ने कुरा के हो भने सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्न खोज्नु जस्तै हो। सञ्चारगृह घेरेर सत्यको आवाज कहिल्यै थुनिँदैन भन्नेमा मलाई विश्वास छ।’

नेपाली पत्रकारिताको गौरवशाली र निर्भीक इतिहासको चर्चा गर्दै सचेतक परियारले संकटका बेला पनि सञ्चारजगत् कहिल्यै कसैसँग नझुकेको स्मरण गराए। ‘हिजो शाहीकालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचारकक्षभित्रै पसेर समाचार सेन्सर गर्दथे। त्यतिबेला नझुकेको नेपाली सञ्चार माध्यम, आज सडकमा दुई–चारवटा गाडी तेर्स्याएर तर्सिन्छ र ?’ उनले प्रश्न गरे ।

नेपाली पत्रकारितालाई कसैले सडकमा अवरोध खडा गरेर गलाउने ‘दिवास्वप्न’ नदेख्न चेतावनी दिँदै उनले आफ्नो दल रास्वपा लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा चट्टानझैँ उभिएको दाबी गरे।

सत्तामा रहेकै कारण प्रेसमाथि हुने अराजकताको साक्षी आफूहरू नबन्ने उनको जिकिर थियो।

सचेतक परियारले सबै सञ्चारगृह र पत्रकारहरूलाई निर्बाध रूपमा काम गर्ने वातावरण मिलाउन र सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सरकारसँग माग गरेका छन्।