काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष एवं चर्चित सञ्चारकर्मी ऋषि धमलाले स्वदेशी किसानका उत्पादनले उचित बजार नपाएर सडकमा गोलभेँडा फालिनुपर्ने अवस्था आउनु देशकै लागि ठूलो दुर्भाग्य भएको बताएका छन् ।
काठमाडौँको माइतीघर मण्डलामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले नेपाली किसानका पीर–मर्का र पीडाप्रति राज्य संयन्त्र उदासीन बनेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे ।
‘हाम्रा किसान दाजुभाइ दिदीबहिनीहरूले पसिना बगाएर फलाएको गोलभेँडा सडकमा फाल्नुपर्ने यो अवस्था दुर्भाग्यपूर्ण हो,’ धमलाले भने, ‘किसानलाई समयमै मल, उन्नत बीउ र सिँचाइको व्यवस्था मिलाउनु सरकारको पहिलो दायित्व हो । उनीहरूको उत्पादनलाई बजारको ग्यारेन्टी गरिनुपर्छ ।’
उनले विदेशबाट आयात गरिएका तरकारी सस्तोमा भित्रिने तर स्वदेशी किसानले लागत मूल्यसमेत नपाएर पिल्सिनुपर्ने विरोधाभासपूर्ण अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकार किसानका यी संवेदनशील समस्या समाधान गर्न तत्काल गम्भीर बन्नुपर्ने उनको भनाइ थियो ।
आफ्नो नेतृत्वमा रहेको स्वतन्त्र नागरिक अभियान सधैँ उत्पीडित किसान र सर्वसाधारणको हकहितको पक्षमा उभिने प्रतिबद्धतासमेत धमलाले व्यक्त गरे । ‘हामी चुप लागेर बस्दैनौँ,’ अध्यक्ष धमलाले भने, ‘पीडित किसानका समस्या समाधान नभएसम्म हाम्रो अभियान निरन्तररूपमा गम्भीरताका साथ लागिरहनेछ ।’
सोही अवसरमा चर्चित पत्रकार धमलाले सरकारको कार्यशैलीप्रति जताततै जनआक्रोश र विरोध बढ्न थालेको टिप्पणी गरे । देशमा सुशासन स्थापना गर्न र भ्रष्टाचारीहरूलाई कानुनको कठघरामा उभ्याउन बालेन सरकार निर्भीक र दृढताका साथ अगाडि बढ्नुपर्नेमा समेत उनले विशेष जोड दिए ।



प्रतिक्रिया