मिटरब्याजपीडित तीन दिनदेखि निजगढमै, गृहमन्त्री गुरुङको आशमा


जनकपुरधाम । मिटर ब्याजविरुद्ध किसान, मजदुर आन्दोलन नेपालले बिहीबारदेखि जनकपुरको तिरहुतिया गाछीबाट तेस्रो चरणको पैदल मार्च सुरु गरेको आज आठ दिन भएको छ । काठमाडौँ हिँडेका उनीहरु यात्राको पाँचौँ दिन बाराको निजगढ पुगेका थिए । त्यसपछि उनीहरू अगाडि नबढी त्यहीँ रोकिएका छन् ।

उनीहरु त्यही रोकिनुको कारण हुन् गृहमन्त्री सुधन गुरुंंङङ । दुई दिनदेखि गृहमन्त्री गुरुङ निजगढमा उनीहरुसँगै वार्ताको लागि सहमति जुटाउने प्रयासमा छन् । निजगढ उद्योग वाणिज्य संघमा मिटरब्याजपीडित बास बसेका छन् । दुई दिनदेखि वार्ता जारी रहेपनि सरकारसँग सम्झौता सम्झौता हुन नसकेको मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय महासचिव मनोज पासवानले जानकारी दिए ।

उनका अनुसार, बुधबार पनि बेलुका पौने ८ देखि राति ११ बजेसम्म गृहमन्त्रीसँग छलफल भएको थियो । सरकारी पक्ष आफूहरूका मागमा धेरै बुँदा सकारात्मक रहेको उनको भनाइ छ ।

बिहीबार(आज) पनि वार्ता हुने भनिएको छ । तर, समय निर्धारण नभएको र सरकारी पक्षबाट यसबारे जानकारी नपाएको महासचिव पासवानले बताए ।

मिटरब्याजपीडितले ६ बुँदे माग अघि सारेका छन् । मिटरब्याज अपराध उन्मूलन घोषणा गरिनुपर्ने, मिटरब्याज विशेष ऐन निर्माण, मिटरब्याज न्यायाधिकरण गठन हुनुपर्ने उनीहरूका मुख्य माग छ ।

यस्तै, मिटरब्याज केन्द्रीय कार्यदल गठन, जिल्लामा पनि कार्यदल र प्रत्येक जिल्लामा सहजीकरण समिति गठन हुनुपर्ने माग उनीहरूले गरेका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले मिटरब्याजपीडितसँग सरकारले गरिरहेको छलफल नटुंगिएको बताए । गृहमन्त्री गुरुङ बारामै रहेका र आज पनि वार्ता हुने उनले जानकारी दिए ।