काठमाडौँ । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ अब आफ्नो चरमोत्कर्षमा आइपुगेको छ। अमेरिकी भूमिमा जारी यो प्रतिष्ठाको लडाइँले दुई टोलीलाई मात्र अन्तिम मञ्चमा उभ्याएको छैन, बरु फुटबलका दुई फरक दर्शन- ल्याटिन अमेरिकी ‘काल्पनिक र जुझारु’ शैली र युरोपेली ‘रणनीतिक र संगठित’ यथार्थवादलाई आमनेसामने गराएको छ।
आगामी साउन ४ गते सोमबार राति न्युयोर्क–न्युजर्सी स्टेडियमको हरियो मैदानमा जब अर्जेन्टिना र स्पेन भिड्नेछन्, त्यो एउटा ट्रफीको प्रतिस्पर्धा हुनेछैन। त्यो त विश्वविजेता बनेर आफ्नो साम्राज्य जोगाउने दाउमा रहेको अर्जेन्टिना र १६ वर्षको लामो खडेरी चिर्दै नयाँ स्वर्णिम युगको खोजीमा रहेको स्पेनबीचको ऐतिहासिक महासंग्राम हुनेछ।
अन्तिम चारको पहिलो भिडन्त आफैँमा एउटा महाकाव्य जस्तो रह्यो। इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलको रक्षात्मक अतिवाद र अर्जेन्टिनाको अथक आत्मबलबीचको भिडन्तले फुटबलमा रणनीति कसरी ‘वरदान र अभिशाप’ बन्न सक्छ भन्ने देखायो। ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलसँगै सन् १९६६ पछिको पहिलो फाइनल यात्रा नजिक पुगेको इंग्ल्यान्डले खेलको अन्तिम १८ मिनेटमा जे गर्यो, त्यो आत्मघाती साबित भयो।
टुचेलले गोलकर्ता गोर्डनलाई फिर्ता बोलाएर डिफेन्डर एज्री कोन्सा र ड्यान बर्नलाई मैदान छिराउँदै पाँच डिफेन्डरको किल्ला खडा गर्ने जुन प्रयास गरे, त्यसले इंग्ल्यान्डलाई रक्षात्मक सुरुङभित्र थुनिदियो। यो त्यही रणनीतिक भूल थियो, जसले अर्जेन्टिना जस्तो आक्रमणको भोक लागेको टोलीलाई आफ्नो पेनाल्टी बक्समा खुला आमन्त्रण दियो।
अर्कोतर्फ, ३९ वर्षको उमेरमा पनि मैदानमा जादुमयी कप्तानी गरिरहेका लियोनेल मेस्सीको उपस्थिति अर्जेन्टिनाका लागि खेलाडीको रूपमा मात्र होइन, एउटा पथप्रदर्शकको रूपमा महत्त्वपूर्ण रह्यो। खेल सकिन पाँच मिनेट बाँकी छँदा एन्जो फर्नान्डेजको शक्तिशाली प्रहार र इन्जुरी समयमा मेस्सीकै सटिक पासमा लाउटारो मार्टिनेजको हेडर गोल—अर्जेन्टिनाको त्यो संकट व्यवस्थापनको नमुना थियो, जसले दबाबमा पनि कहिल्यै हिम्मत हार्दैन। समूह चरणमा जोर्डन र अल्जेरियालाई सहजै पन्छाएको अर्जेन्टिनाले नकआउटमा इजिप्ट र स्विट्जरल्यान्डविरुद्ध व्यहोरेको कठिन संघर्षले यो टोलीलाई मानसिक रूपमा दह्रो बनाइसकेको प्रस्ट पार्छ।
उता, सन् २०१० को विश्वविजेता स्पेनको फाइनल यात्रा भने एउटा भिन्न लय र आधुनिक फुटबलको प्रस्थानबिन्दु हो। पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेर संशयपूर्ण शुरुवात गरेको स्पेनले त्यसपछि उरुग्वे, पोर्चुगल र बेल्जियम जस्ता फुटबलका महारथीहरूलाई निर्धारित समयमै पन्छाएर आफ्नो प्राविधिक श्रेष्ठता सिद्ध गर्यो। मिकेल मेरिनो जस्ता बेन्चबाट आएर खेलको नक्सा बदल्न सक्ने रणनीतिक हतियार स्पेनसँग हुनु उसको सबैभन्दा बलियो पक्ष हो।
फाइनलको यो भिडन्त केवल अर्जेन्टिना र स्पेनको मात्र होइन, यो फुटबलका दुई पुस्ताको महामिलन र टक्कर पनि हो। एकातिर आफ्नो खेल जीवनको उत्तरार्धमा रहेका र पुनः एकपटक विश्वकप उपाधि जित्दै सुखद् बिदाइको पर्खाइमा रहेका फुटबलका महानायक लियोनेल मेस्सी छन् भने अर्कोतर्फ स्पेनिस फुटबलको नयाँ भविष्यका रूपमा उदाएका युवा सनसनी लामिन यामाल छन्।
फाइनल खेलमा मैदानमा बल मात्र गुड्ने छैन, त्यहाँ फुटबलको इतिहास लेखिनेछ। जसले ९० मिनेट (वा त्योभन्दा बढी) को समयमा आफ्नो मानसिक सन्तुलन कायम राख्न सक्छ, ट्रफी उसैको पोल्टामा जानेछ। तर तत्कालका लागि, फुटबलप्रेमीहरू एउटा महाटक्करको प्रतीक्षामा छन्, जसले आगामी चार वर्षका लागि फुटबलको नयाँ शासक’ तय गर्नेछ।



प्रतिक्रिया