दुर्गेशको ‘म्याथ सिक्ने’ गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग


काठमाडौँ । नेपाल शिक्षक महासंघले नेपाली चलचित्र ‘मास्टर्नी’को गीतलाई लिएर गम्भीर आपत्ति जनाएको छ। महासंघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त गीतले महिला शिक्षक र समग्र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको जनाएको छ।

भर्खरै सार्वजनिक भएको उक्त गीतमा महिला शिक्षकप्रति लक्षित गरी अमर्यादित शब्द र भाव संयोजन गरिएको महासंघको आरोप छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुला बहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको छ। त्यसैले उक्त गीतलाई तुरुन्त बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न हामी सम्बन्धित पक्षसँग आग्रह गर्दछौँ।’