काठमाडौं, साउन २ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत उनले नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाका पक्षमा जीवनभर निर्भीकतापूर्वक उभिएका नागरिक अगुवा डा. पाण्डेको निधनले राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रको सजग पहरेदार गुमाएको बताएका छन् ।
उनले भनेका छन्, “नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक मोडहरूमा उहाँले नागरिक तहबाट सङ्घर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध दृढ आवाज उठाउनुभयो र नयाँ पुस्तालाई निरन्तर प्रेरित गरिरहनुभयो ।”
अर्थ सचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उहाँले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टि दिएको थापाको भनाइ छ । सार्वजनिक जीवनमा उनले देखाएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासत रहनेमा थापाले विश्वास व्यक्त गरेका छन् ।
“सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताका पक्षमा उहाँले निर्वाह गर्नुभएको भूमिका विशेष स्मरणीय छ, उहाँले प्रज्वलित गर्नुभएको नागरिक चेतनाको दीप र छोड्नुभएको बौद्धिक सम्पदाले हामीलाई सधैँ मार्गदर्शन गरिरहनेछ”, सभापति थापाले भनेका छन् । डा. पाण्डेको शुक्रबार साँझ काठमाडौँको विशालनगरस्थित निवासमा ८७ वर्षको उमेरमा निधन भएको थियो । उनलाई शुक्रबार नै पाटन अस्पतालबाट निवास ल्याइएको थियो ।




प्रतिक्रिया